काठमाण्डौ । गर्भाअवस्थामा परिवारका सदस्य मध्येमा पनि श्रीमानको ठूलो भूमिका र जिम्मेवारी हुन्छ । गर्भ पूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छैन । गर्भवती महिलाको नियमित स्वास्थ्य जाँचदेखि उनीहरूको खानपानमा पनि श्रीमानले राम्रोसँग ख्याल गर्नुपर्छ ।
गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक विकलाङ्ग भए नभएको थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउण्ड गराउनु पर्दछ । नियमित स्वास्थ्य जाँचका साथै पौष्टिक आहारा जुटाउने तथा उपयुक्त समयमा खाना खाने बारेमा जानकारी गराउने गरेको तेह्रथुमको म्याङलुङ नगरपालिका–८ आम्बुङका नरबहादुर लिम्बुले बताउनुभयो ।
गर्भवतीलाई शारीरिक बोझ तथा मानसिक तनाबबाट पनि मुक्त गराउने बारेमा श्रीमान सचेत हुनुपर्छ । पहिलो गर्भावस्थामा दुईपटक टी टी खोप लिनु पर्दछ भने फोलिक एसिड र आइरन एवम् क्याल्सीयम क्रमशः पहिलो र दोस्रो त्रैमासिकबाट खुवाउन थाल्नुपर्ने म्याङलुङ नगरपालिका–६ तेह्रथुमका मित्र नेपालीले बताउनुभयो ।
शक्ति प्राप्त हुने थप कार्वोेहाईड्रे«ट तथा प्रोटिनयुक्त खानाहरूको व्यवस्थापनमा पनि श्रीमानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । गर्भवती जाँचको दौरान प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवम् रक्तअल्पता लगायतको जाँच गर्नुपर्दछ । म्याङलुङ नगरपालिका–४ तेह्रथुमका यामबहादुर सार्की आफूले गर्भवति श्रीमतिलाई गह्रौ भारी बोक्न नलगाएको, घरको काममा नियमित सघाएको र बेला बेलामा जाँचका लागि अस्पताल लगेको अनुभव सुनाउनुुहुन्छ ।
मधुमेह, उच्च रक्तचाप, मुटु एवम् मृगौलाको रोगी, निगेटिभ रगत समूह भएका, पेट भित्रको शिशु सानो शंका गरिएको, जुम्ल्याहा बच्चा गर्भमा रहेका, पहिलो पटक पटक गर्भ खेर गएको महिलालाई विशेष निगरानीमा राख्नु पर्दछ । श्रीमानको तयारी र सावधानीले यस्ता जोखिम कम गर्न सकिन्छ ।