Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनसुन सक्रिय भएसँगै फैलियो डेङ्गु, गोरखामा ९९ जनामा सङ्क्रमण


623
Shares

मनसुन सक्रिय भएसँगै फैलियो डेङ्गु, गोरखामा ९९ जनामा सङ्क्रमण

कास्की, ३१ साउन । वर्खायामसँगै गण्डकी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमणबाट बच्न साउनदेखि कात्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनुपर्ने चिकित्सिक बताउँछन् । यस वर्ष मनसुन भएसँगै डेङ्गु सङ्क्रमित देखिन थालेका छन् ।

हालसम्म गण्डकी प्रदेशका नौ जिल्लामा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँमा ६४, म्याग्दीमा ३३, पर्वतमा २१, लमजुङमा १७, स्याङ्जामा १३ र नवलपुरमा चार जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । मुस्ताङ र मनाङमा भने हालसम्म डेङ्गु सङ्क्रमित भेटिएको छैन ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गु पुष्टि भएको थियो । सन् २०१९ मा डेङ्गुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसलाई प्रकोपका रूपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेङ्गु को प्रकोप उच्च रहेको थियो । डेङ्गु फैलिँदा यहाँ व्यापक रूपमा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा। रमेशकुमार केसीका अनुसार त्यसबेला कास्कीमा बढी सङ्ख्यामा डेङ्गुका बिरामी फेला परेका थिए । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो । उहाँले त्यसबेला घर घरमा पुगेर नियन्त्रण गरिएको बताउनुभयो । बर्खाको सिजन अझै बाँकी भएकाले हेलचेक्रयाइँ गर्न नहुने उहाँको भनाइ छ ।

तीन वर्षअघि पोखरा क्षेत्रमा डेङ्गु फैलँदा नियन्त्रणका लागि घर घरमा पुगेर सङ्कलित पानी फ्याँक्ने, नाला सफा गर्ने, गमला फुटाउने, टायर खाली गर्नेलगायतका काम गर्दा अहिले नियन्त्रणमा सहज भएको उहाँले सुनाउनुभयो ।

डेङ्गुको सुरुवाती लक्षण ज्वरो भएकाले चिकित्सकको सल्लाहबमोजिम मात्र औषधी खान उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार डेङ्गु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडीवरिपरि दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अङ्गबाट रगत बग्ने सम्भावना रहेको हुन्छ ।

उहाँले सुझाव दिँदै भन्नुभयो, “यसलाई सामान्य रूपमा लिनु हुँदैन । ज्वरो आयो भन्दैमा तत्काल कुनै औषधी खाइहाल्नु हुँदैन । डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसालौँ ।” डेङ्गु परीक्षणका लागि प्रदेशभरका जिल्लामा कीट उपलब्ध भइसकेको उहाँले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु एक प्रकारको भाइरस भएकाले फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकाले सधैँभरि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । लामखुट्टे फैलनाका लागि ह्युमिडिटी ९सापेक्षित आद्रता० ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ । ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology