गोरखा, ४ कार्तिक । बडादसैँको प्रमुख दिन आज टीका जमरा लगाएपछि गोरखाको अजिरकोट गाउँपालिका–सिरानडाँडाका स्थानीय रोटे पिङमा रमाएका छन् ।
दसैँको अवसरमा परम्परागत रूपमा बनाइएको रोटे पिङ खेल्न स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो । सिरानडाँडामा स्थानीय मात्र नभई आसपासका अन्य गाउँबाट समेत पिङ खेल्न आउनेहरूको घुइँचो लागेको थियो ।

दसैँमा आफन्त तथा परिवारका सदस्यसँग टीका र आशीर्वाद साटासाट गरेपछि पिङ खेलेर रमाइलो गर्ने नेपाली परम्परालाई सिरानडाँडाका स्थानीयले पनि निरन्तरता दिएका छन् ।

दसैँको बिदामा गाउँ फर्किएका र स्थानीयवासीको सहभागिताले गाउँमा चहलपहल बढाएको छ । रोटे पिङले दसैँको उल्लास थप्नुका साथै परम्परागत संस्कृति र आपसी सद्भावलाई समेत जीवन्त बनाएको छ ।
