Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बुढीगण्डकी बाढी प्रभावित गोरखाका ३ पालिका संकट ग्रस्त क्षेत्र घोषणा


539
Shares

बुढीगण्डकी बाढी प्रभावित गोरखाका ३ पालिका संकट ग्रस्त क्षेत्र घोषणा

गोरखा ३१ असोज — सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित ३ पालिका संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।   प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गोरखाका तीन गाउँपालिका र धादिङको एक गाउँपालिकाका दुई वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार गोरखाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन्। बैठकले बाढीपहिरोबाट प्रभावित बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

सरकारले यही असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अतिप्रभावित बागलुङका उक्त दुई स्थानीय तहलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

बैठकले क्षतिग्रस्त निजी आवास भएका प्रभावित परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ। होल्डिङ सेन्टरमा नबसी निजी रूपमा अस्थायी बसोबास व्यवस्थापन गर्न चाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा छ महिनाका लागि यस्तो सहायता प्रदान गरिनेछ।

निर्णयअनुसार चार जनासम्म सदस्य भएका परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन्। चार जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना थप दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ।

सरकारको निर्णयअनुसार प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुँदासम्म तोकिएको अवधिका लागि राहत उपलब्ध गराइनेछ। सहायता वितरणको कार्यान्वयन प्रक्रिया र सुरु हुने मितिबारे थप विवरण उपलब्ध छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology