Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोना रोकथाम : पशुपतिनाथको मात्र भर नपरौं


11.4K
Shares

नेपालमा कोरोना रोकथाम : पशुपतिनाथको मात्र भर नपरौं

प्रीतम श्रेष्ठ

बिश्व स्वास्थ्य सँगठन (WHO)ले बिश्वब्यापी महामारी घोषणा गरिसकेको नोबेल कोरोना भाइरस -कोभिड(१९) ले करिब ५ हजार मानिसको ज्यान लिसकेको छ। चीन्, कोरिया, जापान, इरान, इटली, भारत लगायत बिश्वका सबै जसो मुलुकहरुमा महामारीको रुपमा फैलिएको यस भाइरस नियन्त्रण हालको लागी ठुलो चुनौती बनेको छ । कोरोनाको उद्गम स्थल चीनमा रोग फैलिने दर कम हुँदै गए पनि युरोप अन्तर्गतका मुलुक लगायत अन्य राष्ट्रहरुमा यस्को प्रकोप बढ्दै जानु चिन्ताको बिषय हो ।

शुरुवातमा हाम्रो उत्तर तर्फको छिमेकी रास्ट्र चीनमा महामारीको रुप लिएको र नेपालसँग तीन तर्फ सिमाना जोडिएको भारतमा कोरोना फैलिरहदा यि दुई देशको बीचमा रहेको नेपालमा आज सम्म कोरोना प्रकोपको रुपमा नफैलिनु एउटा राम्रो संयोग नै रहेको छ। महामारीले धनी-गरीब, सानो-ठुलो केहि भन्दैन, न त यसले सिमाना नै हेर्छ। त्यसैले कुन दिन यसले नेपालमा दु:ख दिन्छ यकिन गर्न सकिन्न ।
सन्सारकै सबै भन्दा धेरै जनसंख्या भएको देशहरु चीन र भारतले आफ्नो देशमा जसरी कोरोना रोकथामका लागि कदम चालेको छ, यि दुइ देशको बीचमा रहेको हामी सानो मुलुकले पनि त्यही गतीमा रोकथामको पहल गर्न जरुरी छ।

अमेरिका, भारत लगायत मुलुकहरुले अन्तराष्ट्रीय आबागमन बन्द गरिसकेको अबस्था छ, इटलीले क्वारेन्टाइनलाई प्रभाबकारी बनाउदै लगेको छ। हामीले पनि अन्य मुलुकसँग नाका जोडिएका र बढी जनघनत्व भएको बिराटनगर, काठमाण्डौ, भैरहवा, धनगढी, नेपालगन्ज, पोखरा, बुटवल जस्ता शहरहरुमा सिनेमा हल, बिद्यालय, ठुला-ठुला कार्यक्रम केहि समयलाई रोक्न सकिन्छ कि ? स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले चालेको कदमहरु राम्रो छ, यो कार्यक्रमलाई प्रभाबकारी साथ सन्चालन गर्न सकियोस् । क्वारेन्टाइन र ल्याबलाई चुस्त बनाउदै सबै स्वास्थ्यकर्मीहरुलाई थप सुबिधा सहित गाउ-बस्तीहरुमा सचेतना फैलाउन प्रोत्साहित गरौँ । “नेपाल भ्रमण बर्ष २०२०” भन्दा महामारीको रोकथाम ठुलो प्रथामिकता हो भन्ने कुरालाई केन्द्रबिन्दुमा राखेर अघी बढ्न सकौं।

केहि सन्चार माद्यमहरुले फैलाएको त्रासलाई नियन्त्रण गरी सही सुचना तथा त्रसित नहुने समाचार प्रशारित गर्न प्रोत्साहित गरौ । छिमेकी मुलुकहरुले रोग थप नफैलीयोस भन्ने हेतुले नाकाहरु बन्द गरेको अवस्थामा नेपालमा ह्वातै मौलाउन सक्ने कालो-बजारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सम्बन्धित निकाय सचेत हुनु जरुरी छ । अहिलेको अवस्थामा माक्स्, स्यानिटाइजर र औषधिमा भइरहेको कालो बजारीलाई नियन्त्रण गर्नु अति आबश्यक छ ।

हाम्रो सरकारले बिदेशी भुमीमा अध्ययन गरिरहेका बिधार्थीहरु साथै काम गरिरहेका नेपाली नागरिक सबैलाई राज्यले परि आएको अवस्थामा उद्दार गरेर रक्षा गर्न सक्छ भन्ने महसुस हुने गरी कार्यक्रम लिएर आउन सकोस् । हाम्रो देशको सरकार कोरोना नियन्त्रण गर्न सक्षम छ भनेर सब नेपालीले बिस्वास गर्न सकोस् । कोरोनाकै कारण मानसिक तनाबमा कुनै नेपालीले जिउनु नपरोस् ।

कोरोनाको नाममा नाफा कमाउने, राजनिती गर्न खोज्ने, गलत भ्रम फैलाउन खोज्नेहरु प्रती सरकार कठोर बनोस्। नेपाल सरकारले सबै जनताको अभिभावक बन्ने जमर्को गरोस्। कोरोना महामारी शुरु हुन थाल्यो भने पशुपतिनाथको पुकार गरेर मात्र केहि हुने छैन। सरकारको मात्र मुख नताकौ, आ-आफ्नो ठाउँ देखी लागी परौं । केन्द्रिय तह देखी स्थानिय तह सम्म सबैको सकृय सहभागितामा कोरोना रोकथामका लागी पहल गरौ । सरकारले घर(घरमा आएर नियन्त्रण गर्छ भन्ने आशा गर्नु भन्दा शन्का लागेको अवस्थामा आफै कोरोना परिक्षण गर्न जाने गरौं। अहिले निर्माण भएका क्वारेण्टाइन भवन र उच्च किसिमको ल्याबहरु आगामी दिनका लागी पनि काम लाग्ने हुनाले दिल ठुलो बनाएर सबैले हातेमालो गरेर लागी परौं । दिन रात नभनि खट्ने स्वास्थ्यको सिपाहीहरु मानिने गाउँ देखी शहर सम्मका सबै स्वास्थ्यकर्मीहरुको सकृय सहभागितामा सबै तह र तप्काका जनाताहरु एक आपसमा मिलेर सम्भाबित महामारी देखी जोगिने कोसिस गरौं ।

कोरोना सन्क्रमित हुँदैमा सबैको मृत्यु हुन्छ भन्ने होइन, त्यसैले मानसिक रुपमा कमजोर नबनौ । साबुन पानीले पटक(पटक हात धुने गरौ, सके सम्म भिड-भाडमा नजाऔ, यदी जानु परे माक्सको प्रयोग गरौ, हात मिलाउनुको सट्टा नमस्कार गर्ने बानीको बिकास गरौ । रोग लागेपछी उपचार गर्नु भन्दा रोकथाम गर्नु नै उतम बिकल्प हो भन्ने मुल मन्त्र सम्झेर सबैले आफ्नो स्वास्थ्यमा बिशेष ध्यान दिने गरौ। त्रसित हैन, सचेत बनौ ।

(श्रेष्ठ गोरखाका सकृय जन-स्वास्थ्यकर्मी हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology