Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेपाली कम्युनिष्ट पार्टीद्वारा सिरानचोक गाउँपालिकालाई १३ बुँदे जनसरोकारका मागसहित ज्ञापनपत्र


21
Shares

नेपाली कम्युनिष्ट पार्टीद्वारा सिरानचोक गाउँपालिकालाई १३ बुँदे जनसरोकारका मागसहित ज्ञापनपत्र

गोरखा, २० कार्तिक – नेपाली कम्युनिष्ट पार्टी सिरानचोक गाउँ पार्टीसमितिले सिरानचोक गाउँपालिकाका अध्यक्षलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ। छोप्राकस्थित गाउँपालिका कार्यालयमा अध्यक्ष ज्ञानेन्द्र गुरुङसमक्ष बुझाइएको ज्ञापन पत्रमा आम नागरिकका सरोकार, विकास निर्माण, सेवा प्रवाह र सुशासनसँग जोडिएका समस्या समाधान गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका आधारभूत आवश्यकता, विकासको अपेक्षा र सार्वजनिक सेवाप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ।सो पार्टीले पालिकाभित्रका खानेपानी, सडक, सिँचाइलगायत अधुरा आयोजना सम्पन्न गर्न माग गरेको छ। हरेक वडाका सडकको वर्गीकरण गरी प्राथमिकताका आधारमा निर्माण गर्न पनि भनिएको छ।

त्यस्तै स्वास्थ्यतर्फ निर्माण सम्पन्न भइसकेको तर अलपत्र अवस्थामा रहेको जौवारी अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गरिएको छ। साथै सबै स्वास्थ्य संस्थामा आधारभूत सेवाको पहुँच विस्तार, स्तरोन्नति र आवश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न आग्रह गरिएको सहसंयोजक धनबहादुर तामाङले जानकारी दिनुभयो । पार्टीले गाउँपालिकालाई बुझाएको ज्ञापन पत्रमा शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, आवश्यक शिक्षक व्यवस्थापन र प्रविधिमैत्री शिक्षामा जोड दिन माग गरिएको छ।

भूगोल र सडक सहजताका आधारमा दुई वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न र विद्यार्थी संख्या न्यून भएका विद्यालय समायोजन गरी सुविधा सम्पन्न बनाउन पनि माग गरेको छ । किसानका कृषि उत्पादन पालिकाले नै खरिद गरी बजारीकरण गर्न, अनुदान र आधुनिक प्रविधिको प्रयोगमार्फत किसानले पेशाप्रति गर्व गर्न सक्ने वातावरण बनाउन ज्ञापन पत्रमार्फत माग गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै हरेक वडामा क्षमता विकास कार्यक्रम सञ्चालन गर्न र गाउँमै रोजगारी तथा स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने, तथा बाँदरले बालीनाली मात्र नभई घरको अन्न खाइदिने र मानिसलाई समेत आतंकित बनाउने जोखिम बढेकाले स्थानीय कानुन बनाएर प्रभावकारी नियन्त्रण गर्न माग गरिएको छ। साथै लामो समयदेखि दरौँदी र चेपे नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएको भन्दै त्यसलाई रोक्न तत्काल व्यावहारिक र कानुनी बाटो अपनाउन भनिएको छ।

नदीजन्य पदार्थको अवैध उठाइ–बिक्री पूर्ण रूपमा नियन्त्रण गर्न पनि माग गरिएको छ। त्यस्तै गरी बजेट, योजना छनोट र खर्च विवरणलाई पारदर्शी बनाउँदै सार्वजनिक सुनुवाइ प्रभावकारी बनाउन, महिला, दलित, जनजाति, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विपन्न समुदायका कार्यक्रमलाई प्राथमिकता दिन पनि माग गरिएको सहसंयोजक तामाङले बताउनुभयो । योजना तर्जुमा, छनोट र कार्यान्वयनमा नागरिक, शिक्षक, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको छ।

पालिका भित्र फोहोरमैला व्यवस्थापन, खोलानाला र सडकमा फोहोर फाल्नेलाई सजायको व्यवस्था तथा आकस्मिक विपद् कोष सञ्चालन गर्नुपर्ने, प्रशासनिक भवन निर्माण तत्काल सुरु गर्न, सार्वजनिक सेवा प्रवाह सहज बनाउन र करार कर्मचारीको पारिश्रमिकमा समानता तथा न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा सम्बन्धित विषयलाई कार्यपालिका बैठक, आगामी नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

पार्टीले स्थानीय सरकारलाई जनउत्तरदायी, पारदर्शी र परिणामुखी बनाउन रचनात्मक सुझाव, सहकार्य र खबरदारीसहित जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ। ज्ञापनपत्रमा संयोजक तिलक बहादुर बानिया र सह–संयोजक धन बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology