काठमाडौं, कात्तिक १९ गते । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी गोरखाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पूर्जी जारी भएको दुर्गा गुरुङ बस्नेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बस्नेतलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले कात्तिक १७ गते नागार्जुन नगरपालिका–१, रानीवनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेत ३२ वर्षका हुन् । उनी गोरखाको साविक बारपाक सुलिकोट गाविस हाल परिवर्तित बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा हुन् । उनी हाल काठमाडौं महानगरपालिका–१६, वनस्थलीमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार उनीमाथि बिगो रकम रु। २ लाख ५५ हजार १ सय ३ बराबरको बैंकिङ कसुरको मुद्दा चलिरहेको छ । उनलाई कात्तिक १७ गते फक्राउ गरिएको हो । पक्राउ परेका प्रतिवादीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।