गोरखा, २० कात्तिक । प्रदेश अस्पताल, गोरखाले डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अस्पतालले बिहीबारदेखि लागूहुने गरी डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपानेले अस्पतालमा आयोजित कार्यक्रमबीच डिजिटल भुक्तानी प्रणालीको थालनी गर्नुभएको हो । प्रदेश अस्पताल गोरखाले अस्पतालले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा विकसित इएमआर प्रणालीमार्फत दैनिक सेवा प्रवाह गर्दै आएको छ ।
सोही प्रणालीमा डाइनामिक क्यूआर प्रविधिको प्रयोग गरी डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष ढकालको भनाई छ । डिजिटल भुक्तानी सेवाबाट सेवाग्राहीले अस्पतालमा लाग्ने शुल्क सजिलै र सुरक्षित तरिकाले तिर्न सक्ने उहाँले बताउनुभयो ।
“यो प्रणालीले भुक्तानी प्रक्रियालाई सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विश्वास छ,” अध्यक्ष ढकालले भन्नुभयो, “डिजिटल माध्यमबाट भएको कारोबारको अभिलेख प्रणालीमै रहने भएकाले आर्थिक पारदर्शिता कायम गर्न पनि थप सहयोग पुग्नेछ ।”
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले अस्पतालबाट प्रदान गरिने सेवा, हालसम्मका उपलब्धि, भावी योजना तथा सेवा सुधार योजनाबारे जानकारी गराउनुभएको थियो ।
डिजिटल भुक्तानी सेवा नहुँदा सेवाग्राहीले रकम भुक्तानीका लागि लामो लाइनमा बस्नुपर्ने बाध्यता रहँदै आएको थियो । अस्पतालले बिहीबारै विभिन्न कार्यक्रममार्फत २६ जना चिकित्सकलगायतका नवआगन्तुक कर्मचारीलाई स्वागत गरेको छ ।
जसमा ५ जना विशेषज्ञ चिकित्सक, ५ जना मेडिकल अधिकृत, ५ जना नर्सिङ अधिकृत, १ जना फिजियोथेरापिस्ट तथा १० जना स्टाफ नर्स तथा अन्य प्यारामेडिक्स कर्मचारी रहेको अस्पतालले जनाएको छ ।