काठमाडौँ, १९ कात्तिक । नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनायो ।
लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउनुभयो । निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रन जोड्नुभयो । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाउनुभयो ।
बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल सुश्लिङले दुई–दुई विकेट लिनुभयो । हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिनुभयो ।
जारी सिजनमा लुम्बिनी लायन्स अपराजित रहेको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र वर्षाका कारण रद्द भएको एक खेलबाट पाँच अङ्क जोडेको छ । पोखरा एभेन्जर्सलाई पराजित गरेपछि लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
जनकपुर बोल्ट्सले भने चार खेलमा दुई जित र दुई हार बेहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमान्डु गोर्खाज र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । चौथो खेलमा विराटनगर किङ्ससँग पराजित जनकपुर चार अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।