काठमाडौं, १९ भदौ। असोदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ ।
आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको हो।
आगामी २४ र ३१ भदौको शुक्रबार सेयर कारोबार हुने र असोज लागेपछि भने शुक्रबार हुँदै आएको कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले बताउनुभयो ।
यसअघि सरकारले जेठ १ गतेदेखि ३० गतेसम्म एक महिना हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिएसँगै सेयर बजार कारोबार दिन प्रभावित हुन पुगेको थियो । आइतबार सार्वजनिक विदा हुने भएपनि सो दिनको सट्टा शुक्रबारलाई सारिएको थियो ।
तर, सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन भएको एक महिना नबित्दै सरकारले आइतबारको बिदा खारेज गरेको थियो । तर, यता सेयर बजारमा भने आइतबारदेखि शुक्रबार नै कारोबार हुँदै आयो । असार १ गतेदेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुँदै आएकोमा तीन महिनापछि नेप्सेले पूर्ववत् कारोबार दिन (आइतबारदेखि बिहीबार)लाई नै कार्यान्वयन गर्ने भएको छ ।
शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग उठेसँगै नेप्सेले यस्तो निर्णय गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी असोज १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी शुक्रबारको कारोबार बन्द गरिने जनाएको छ । योसँगै पुनः हप्तामा ५ दिन सेयर कारोबार हुनेछ ।