गोरखा १९ साउन । पाकिस्तानको ब्रेड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा ज्यान गुमाउनु भएका गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी माउन्टेन गाइड पुरबहादुर गुरुङ (युक्त) प्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । गाउँपालिकाले सोमबार एक शोक वक्तव्य जारी गर्दै गुरुङको असामयिक निधनको खबरले धार्चे गाउँपालिका परिवार स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ ।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङद्धारा हस्ताक्षरित शोक वक्तव्यमा विश्वबिख्यात माउन्टेण्ट गाइड गुरुङको असामहिक निधनले धार्चे गाउँपालिकालाई अपुरणीय क्षति पुगेको उल्लेख छ । वक्तव्यमार्फत आफ्नो अदम्य साहस र कठोर परिश्रमका माध्यमबाट विश्वका सर्वोच्च शिखरहरूमा देशको झण्डा फहराउँदै सिङ्गो गोरखा जिल्ला र नेपालकै पहिचान अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन उहाँले पुर्याउनुभएको योगदान सधैँ अविस्मरणीय रहने उल्लेख गरिएको छ।
साहसी आरोही गुरुङको निधनबाट देशले एक अमूल्य नक्षत्र गुमाएको र पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ। शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धार्चे गाउँपालिका परिवारका तर्फबाट श्रद्धासुमन अर्पण गरिएको छ।
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घरभएका ३८ बर्षीया पर्वतारोही गुरुङको सोमबार हिमपहिरोमा परेर निधन भएको थियो । उहाँले विश्वको सर्वोच्च शिखर सगरमा १० पटक सगरमाथा आरोहण गर्नुभएको थियो भने १२ वटा ८ हजार मिटर माथिको हिमाल आरोहणको सफलता गरिसक्नु भएको थियो ।