नुवाकोट । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले प्रधानमन्त्री बन्नेका लागि कुनै पनि सोचाई नबनाएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले अहिले आफूलाई प्रधानमन्त्री बन्ने रेसमा रहेको भनेर नबुझिदिन पनि आग्रह गर्नु भएको छ । अहिले भने यस्तो नसोचे पनि भविष्यमा भने प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व लिन सक्ने उहाँको संकेत थियो ।
‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको जन्मथलो नुवाकोटको तुप्चेमा बोगटीको शालीक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक सामारोहलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘भविष्यको कुरा अर्कै हो ।’
कार्यक्रममा काँग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गर्नु भएको थियो । लामाको भनाइ प्रति टिप्पणी गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको प्रष्टीकरण दिनुभयो । अहिले आफ्नो ध्यान सत्तामा नभई मुलुक विकासमा रहेको समेत बताउनु भयो ।
चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको समेत बताउनुभयो ।
‘उहाँहरुले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उनले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र कनेक्टिभिटी नै त्रिदेशीय साझेदारी भएको व्याख्या समेत गर्नु भयो ।