काठमाडौँ, २७ असोज । गोरखाको चुमनुब्रीस्थित बुढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढी आउनुमा हिमपहिरो, सुक्खा पहिरो र जमिनको कम्पनलगायत बहुपक्षीय कारण देखिएका छन् । तामार र सिरिङ्गे हिमालको बिचमा बग्ने स्यार खोलामा चट्टानसहितको हिमपहिरो खसेपछि पहिरोले खोला थुनेको र करिब डेढ घण्टापछि बाँध खुल्दा माटो, ढुङ्गा, बालुवा र अन्य ठोस पदार्थसहितको बाढी आएको प्रारम्भिक स्थलगत अध्ययनले देखाएको छ ।
बाढी आएलगत्तै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जियोलोजिस्ट डा। प्रकाश पोखरेलको नेतृत्वमा विशेषज्ञ टोलीलाई आइतबार नै घटनास्थल पठाएको थियो ।
टोलीले ड्रोनको प्रयोग गरी नदीको उद्गमस्थलदेखि पहिरो गएको क्षेत्रसम्मको अवस्था अध्ययन गर्नुका साथै तस्बिर, भिडियो र बाढीले बगाएर ल्याएका पदार्थको विश्लेषण गरेको थियो ।
टोलीको अध्ययन अनुसार बुढीगण्डकीमा आएको बाढीलाई सुक्खा पहिरोको परिणामका रूपमा मात्र बुझ्न सकिँदैन । हिमाली क्षेत्रमा चट्टानसहितको हिमपहिरो खस्नु, त्यसपछि सुक्खा पहिरोले खोला थुनिनु र थुनिएको पानीसँगै ठुलो परिमाणमा गेग्रान बग्नुले बाढीको प्रकृति जटिल रहेको देखाएको छ ।
जियोलोजिस्ट डा। पोखरेलका अनुसार स्यार खोलामा सुरुमा चट्टानसहितको हिमपहिरो खसेको देखिन्छ । त्यसपछि गएको सुक्खा पहिरोले खोला करिब डेढ घण्टा थुनेको थियो । खोला थुनिएपछि जम्मा भएको पानी एकै पटक नखुलेर पटक पटक र क्रमिक रूपमा बाहिरिएको थियो ।
“खोलामा बनेको प्राकृतिक बाँध एकै पटक नभई विस्तारै पटक पटक खुलेको देखिन्छ,” उहाँले भन्नुभयो, “यसले पानी एकै पटक ठुलो परिमाणमा तल झर्न नदिएकाले सम्भावित क्षति कम हुन सहयोग गरेको हुन सक्छ ।”
बाढीको समयमा भूकम्पको सङ्केत
चुमनुब्रीमा पहिरो खसेर खोला थुनिएको समय आसपास जमिनमा कम्पन भएको सङ्केतसमेत अभिलेख भएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता राजन भट्टराईले आइतबार बिहान करिब साढे चार बजेतिर ४।२ रेक्टर स्केल आसपासको भूकम्प मापन गरिएको बताउनुभयो ।
भूगर्भविद् शिवकुमार बाँस्कोटाका अनुसार बाढीको प्रकृतिले हिमपहिरोको संलग्नता रहेको देखाउने आधारहरू छन् । हिमनदी तथा हिमताल प्रणालीमा निरन्तर परिवर्तन भइरहेको अवस्थामा हिमाली क्षेत्रमा यस्ता घटनाको जोखिमलाई गम्भीर रूपमा लिनु पर्छ ।
नदीको माथिल्लो जलाधार क्षेत्रमा ठुलो पहिरो जानु, चट्टान खसेर नदीको बहाब थुनिनु र थुनिएको पानी एक्कासि फुटेर तल्लो तटीय क्षेत्रमा बग्नु हिमाली क्षेत्रमा देखिने जोखिमपूर्ण प्राकृतिक प्रक्रियामध्ये एक हो । पानीसँगै ठुलो मात्रामा गेग्रानसमेत बग्ने भएकाले बाढीको प्रभाव सामान्य बाढीभन्दा फरक र विनाशकारी हुन सक्ने बाँस्कोटाले उल्लेख गर्नुभयो ।
पानी मात्र होइन, गेग्रानको जोखिम
नेपालमा पछिल्ला वर्ष बाढीको स्वरूपमा देखिएका परिवर्तनले विपत् जोखिमको आँकलन र पूर्वतयारीलाई थप जटिल बनाएको छ । नदीमा पानीको बहाब बढेर आउने बाढीभन्दा माटो, ढुङ्गा र गेग्रानसमेत बोकेर आउने बाढीले नदीको सतह उकास्ने, बहाबको दिशा परिवर्तन गर्ने र तटीय बस्तीमा क्षति पुर्याउने जोखिम बढी हुने गर्छ ।
भूगर्भविद् बाँस्कोटाका अनुसार भूकम्पले कमजोर बनाएको भू–बनोट, अव्यवस्थित सडक निर्माण, पहिरोका कारण नदी थुनिने अवस्था र जलवायु परिवर्तनले यस्ता जोखिम बढाउन सक्ने आधार देखिएका छन् ।
तीन सय एक्काइस जनाको उद्धार
नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट सोमबार ३२१ जनाको उद्धार गरेको छ । साथै बाढी प्रभावित क्षेत्रका लागि छ हजार १७० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले एमआई–१७ सहित चार वटा हेलिकोप्टर परिचालन गरी बाढी प्रभावित गोरखाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।
सोमबार फिलिम, चुम्लिङ, आरुघाट, दोभान र हुलचुकलगायत स्थानबाट हवाई साधनमार्फत ३०८ जनाको उद्धार गरिएको छ । त्यस्तै स्थल मार्गबाट थप १३ जनालाई सुरक्षित स्थानमा पुर्याइएको निर्देशनालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्रीको अभाव हुन नदिन सेनाले काठमाडौँबाट फिलिमसम्म छ हजार १७० किलोग्राम राहत सामग्री ढुवानी गरेको छ । बाढीबाट बेपत्ता पाँच जनाको खोजीकार्य भइरहेको पनि जनाइएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार नौ जना विदेशीसहित ९६ जनाको उद्धार गरिएको छ । सोमबार थप १० जना विदेशी नागरिक उद्धार गरिएको छ ।
प्राधिकरणको विपत् प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीका अनुसार बाढीका कारण जोखिममा परेका तथा सडक सञ्जाल अवरुद्ध हुँदा आवतजावत गर्न नसकी विभिन्न स्थानमा फसेका नागरिकलाई हवाई साधनमार्फत उद्धार गरिएको हो ।