काठमाडौँ, २० कात्तिक । नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाउनुभयो । उहाँले २४ बलमा चार चौका र एक छक्का प्रहार गर्नुभयो । त्यस्तै, विनोद भण्डारीले २२ बलमा २७, ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ र इशान पाण्डेले २३ रन बनाउनुभयो । थारिन्दु रत्नायके २२ र स्कट कुग्गेलेइन १३ रनमा अविजित रहनुभयो ।
बलिङतर्फ कर्णाली याक्सका मार्क वाटले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिनुभयो । नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान एक–एक विकेट लिनुभयो ।
कर्णाली याक्स १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ ।