काठमाण्डौ २०, बैशाख । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारको तर्फबाट भएका कमीकमजोरीबारे सचिवालय बैठकमा आत्मालोचना गर्नुभएको छ । उहाँले आगामी दिनमा पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने प्रतिबद्धता समेत बैठकमा व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा प्रधामनन्त्री ओलीले सरकारका तर्फबाट भएका कमीकमजोरीबारे आत्मालोचना गरेका बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘यसक्रममा पार्टी सरकारमा जे जति कमी कमजोरी भएका छन्, त्यसमा आत्मालोचना गर्नु भएको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘प्रचण्ड र अरु कमरेडले आत्मालाचोना गर्दै अगाडि बढ्ने संकल्प गर्नु भएको छ।’ यसअघि ओलीले पार्टी बैठकमा सरकारको कामको बचाउ गर्दै आउनु भएको थियो ।
बैठकले नेकपाको आन्तरिक जीवनमा देखापरेको समस्या र संकटहरुलाई समाधान गर्नेगरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा लाग्ने निर्णय गरेको छ। ‘पार्टीलाई विधि पद्धति र मूल्यमान्यता अनुसार सञ्चालन गर्ने, पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले समजवाद उन्मुख काम गर्ने निर्णय भएको छ,’ श्रेष्ठले भन्नुभयो ।