Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखाका ११ वटै स्थानीय तहमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु


91
Shares

गोरखाका ११ वटै स्थानीय तहमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

गोरखा, १५ असोज । नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय जागरण अभियानअन्तर्गत आज कार्तिक १५ गते देखि गोरखाका ११ वटै स्थानीय तहमा अभियान सञ्चालन भएको छ। पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकले कार्तिक १५ गतेदेखि जिल्लाव्यापी अभियान सञ्चालन गरेको हो ।

पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवाल, पार्टी समायोजन, सदस्यता नवीकरण तथा सङ्गठन सुदृढीकरणलाई अभियानको मुख्य उद्देश्य बनाएको जनाएको छ। पार्टीको केन्द्रीय कार्यालयबाट गत कार्तिक ७ गते राष्ट्रिय जागरण अभियानको उद्घाटन भइसकेको छ।

जिल्ला पार्टीले कार्तिक ११ गते बसेको पूर्ण बैठकबाट स्थानीय तहमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सामाजिक चाडपर्व तथा मौसमी प्रतिकूलताका कारण जिल्लामा अभियान सुरु गर्न केही ढिलाइ भएको जिल्ला पार्टीका संयोजक अकुर तिमल्सिना आयमले बताउनुभएको छ ।

अभियानलाई व्यवस्थित बनाउन गोरखाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका चार प्रदेश निर्वाचन क्षेत्रलाई चार कमान्डमा विभाजन गरिएको छ। क्षेत्र नम्बर १ ९क० मा लेखबहादुर थापामगर र ९ख० मा जगन्नाथ खनालले नेतृत्व गर्नेछन्। त्यसैगरी क्षेत्र नम्बर २ ९क० मा कमला नहर्की र ९ख० मा भगवती तिवारीले अभियानको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्।

अभियानका क्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका सदस्य, सल्लाहकार र विभिन्न समितिमा आबद्ध सदस्यहरू सहभागी हुने जनाइएको छ। अभियान मुख्यतः वडा केन्द्रित हुनेछ। टोलटोलमा पुगेर जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने, वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी लिने र पार्टीप्रति जनताको सुझाव सङ्कलन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यस्तै, घरदैलो, पिँढीसभा तथा टोलसभा सञ्चालन गरी पार्टीका नीति, विचार र योजना जनतामाझ पुर्‍याउने, सदस्यता नवीकरण तथा विस्तार गर्ने र जनवर्गीय सङ्गठनका वडा तहका एकाइ निर्माण गर्ने कार्यक्रम पनि अभियानमा समेटिएको छ।

पार्टीले कालोबजारी, बेथिति, महँगी तथा जनजीविकासँग सम्बन्धित समस्यालाई अभियानका क्रममा प्राथमिकताका साथ उठाउने जनाएको छ। ती विषयमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्र बुझाउने योजना रहेको छ। जनसमुदायसँग जोडिएर श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने पनि पार्टीको योजना छ।

यसैगरी, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र राष्ट्रहितका साझा सवालमा जिल्लामा क्रियाशील देशभक्त, लोकतान्त्रिक तथा वामपन्थी राजनीतिक दल, नागरिक समाज, समाजसेवी र बुद्धिजीवीसँग भेटघाट तथा अन्तरसंवाद गरिने जनाइएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित गण्डकी, सहिद लखन, चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका नागरिकका समस्याको अध्ययन गरी उद्धार, राहत तथा पुनर्निर्माणका लागि पहल गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology