Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक


2.4K
Shares

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक

काठमाण्डौं १० बैशाख । नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टर्स विथाउट बोर्डर्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अवस्था गतवर्षभन्दा ६ स्थान तल झरेको हो । विश्व प्रेस स्वतन्त्रता सूचकांकमा गत वर्ष १०६ औं स्थानमा रहेको नेपाल आफ्नो स्थान खस्काउँदै यस वर्षको प्रतिवेदनमा ११२ औं स्थानमा पुगेको हो । विश्वभरका १८० देशमा गरिएको अनुगमनमा नेपाल ११२ औं स्थानमा रहेको हो ।

कोरोना भाइरसका कारण सृजित समस्यामा पत्रकारिताका लागि एक निर्णायक दशकमा प्रवेश शिर्षकमा निकालिएको प्रतिवेदनमा नेपालको अवस्था झन् खस्किएको हो । विपक्षमा रहँदा नेपाली प्रेसको प्रशंसा गर्ने प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएलगत्तै संसदबाट निकै कठोर कानून पारित गर्न खोजेको प्रतिवेदनमा उल्लेख छ ।

खोजी पत्रकारिताका लागि अवरोध गर्ने खालको नयाँ अपराध संहिता लागू गरिएको भन्दै रिपोर्टर्स विथाउट बोर्डर्सले सरकारले तोकेको मानिसलाई सिधै नियुक्ति दिने प्रावधानसहितको प्रेस काउन्सिल ऐन बनाउन खोजेको पनि जनाएको छ । सरकारका मन्त्री र अधिकारीहरु सञ्चारमाध्यमको विरोधमा लागेको भन्दै प्रतिवेदनमा सरकारी विभिन्न धम्की, हिंसालगायतका कारण स्वतन्त्र रुपमा पत्रकारिता गर्नेहरुका लागि नेपालको वातावरण कठिन हुँदै गएको प्रतिबेदनमा उल्लेख छ ।

दक्षिण एशियामा भारत १४२, पाकिस्तान १४५, बंगलादेश १५१ रहेको छ । नर्वे लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहँदा उच्च पाँच देशमा क्रमशः फिनल्याण्ड, डेनमार्क, स्वीडेन, नेदरल्याण्ड रहेका छन् । बेलायत ३५ औं स्थानमा रहँदा अमेरिका ४५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology