गोरखा, १५ फागुन ः गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका २९ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९ औँ स्मृति दिवसको अवसरमा सहिद परिवार सम्मान तथा प्रगतीशिल साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमको आयोजना गरेर बुधबार सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
‘‘पालिका भित्र जनयुद्धका क्रममा २९ जना सहिद तथा बेपत्ता भएकाको परिवारलाई गाउँपालिकाले नगद रु १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको हो, उहाँले भन्नुभयो, ‘‘यसले जनयुद्धमा बलिदानी दिनहुने सहितहरु प्रति उच्च सम्मान हुनेछ ।’’ गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ को स्विकृत बार्षिक कार्यक्रममार्फत सम्मान कार्यक्रम गरेको अध्यक्ष भट्टको भनाई छ ।
सो क्रममा राज्यपक्षबाट मारिनु भएका जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका बाबु सेते रम्तेललाई पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले नगदसहित सम्मान गर्नुभएको हो । कार्यक्रममा सहिदहरु कमला भट्ट, ओमबहादुर भट्ट, तलुबहादुर बि.क, दीपक गुरुङ, गुणनीधि देवकोटा, राजेन्द्र पनेरु, मदन गुरुङ, कृष्ण गुरुङ, कुमार बराम, रिता ढकाल, देवराज सुनार र नन्दलाल ढकालका परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।
त्यस्तै सहिदहरु आशकाजी श्रेष्ठ, इन्द्र थापा, बिमला भट्ट, प्रेम ढकाल, कौशिला तमु, मिनबहादुर घले, मिनाकुमारी तमु, भोजराज भट्ट, नन्दलाल कोइराला, नरबहादुर देवकोटा, चक्रबहादुर बराम, जोगबहादुर गुरुङ, टंकबहादुर पुलामी मगर, भीमसेन धिताल, शिवप्रसाद भट्ट र जनयुद्धका घाइते रामप्रसाद भट्टको परिवारलाई पनि पूर्व उपराष्ट्रपति पुनले सम्मान गर्नुभयो ।
गाउँपालिकाले वडा नम्बर–८, स्थित पन्द्रुङ घर भएका जनयुद्धका प्रथम सहिद रम्तेलको सम्झनामा पन्द्रुङमा सहिद दिलबहादुर रम्तेल स्मृति पार्क एवं युद्ध सङग्राहलयसमेत निर्माण गरेको छ ।