गोरखा, ६ फागुन । गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशिल बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्र्तगत विपन्न महिलालाई व्यवसायसंग जोडेर आयआर्जन बृद्धिका लागि उद्यमशिल बनाउँदै लैजाने उद्देस्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
‘‘सीपमुलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसंग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मानिर्भर बन्नसक्छन, उहाँले भन्नुभयो, ‘‘त्यसका लागि सीप अनुसारका प्रविधी उपलब्ध गराएपछि पेशामा जोड्न सहज हुने भएकाले पनि सिलाई मेसिन वितरण गरिएको हो ।’’
सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्युन आय भएका र थोरै सहयोगबाट पनि जिविकोपार्जनमा जोडिन चाहाने विपन्न महिला वडावडाबाट छनौट गरि ९ जनालाई मेसिन अनुदान सहयोग गरिएको कार्यक्रमकी फोकल पर्सन शोभा दुवाडीले जानकारी दिनुभयो । कार्यक्रममार्फत व्यवसायिक रुपमा सिलाइकटाइ तालिम प्रदान गर्दै आएका केही बहुउद्देस्सीय संस्थाहरुलाई पनि उन्नत प्रकारको ‘जुकी’ सिलाइ मेसिन अनुदानमा उपलब्ध गराइएको उहाँको भनाई छ ।
जसअन्र्तगत चिनारी बहुउद्देस्सीय संस्था, गोरखा उद्योग बाणिज्य संघ र महालक्ष्मी सिलाइ कटाइ केन्द्रलाई जुकी मेसिन प्रदान गरिएको उहाँको भनाई छ । ‘‘यी संस्थाहरुले सस्थागत रुपमा विपन्न महिलालाई सिलाइ कटाइ तालिम प्रदान गर्दै आएका छन्, दुवाडीले भन्नुभयो, ‘‘यसबाट महिलालाई पेशा व्यवसाय जोडिन लाग्न मद्दत पुग्छ ।’’
त्यस्तै नौमती पन्चेबाजा बजाउने तालिम लिएका गोरखा नगरपालिका–८, स्थित रानी स्वाँरा आहालटोल विकास संस्था, वडा नम्बर ६ स्थित प्रगतीशिल महिला उद्यमी संघ र वडा नम्बर २ स्थित थापा गाउँ महिला समुहलाई आवद्ध महिलाहरुलाई समुहगत रुपमा आयआर्जनसंग जोड्ने यसअघि नौमती पन्चे बाँजा वितरण गरिएको उहाँले बताउनुभयो ।
‘‘गाउँ टोल र छरछिमेकमा हुने आजपुजा, बिहे ब्रतबन्धलगायतका मनोरन्जनात्मक कार्यमा बाहिरबाट नौमती पन्चे बाँजा झिकाएर रमाइलो गर्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, ‘‘नगरपालिकाले तालिम दिएर अनुदानमा पन्चेबाजासमेत उपलब्ध गराएपछि अहिले ती समुहमा आवद्ध महिलाहरुले राम्रो आम्दानी पनि गर्न थालेका छन् ।’’