गोरखा, १३ माघ । भूमिहिन र सुकुम्बासीका समस्या छिटो समाधान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज भूमि समस्या समाधान आयोग गोरखाका नवनियुक्त अध्यक्षको पदभार तथा स्वागत कार्यक्रममा बोल्दै सहभागीहरुले सरकारले पटक–पटक जिल्लास्थित आयोग गठन गर्ने र भंग गर्ने अवस्थाले लामो समयदेखि भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको बताएका हुन् ।
कार्यक्रममा गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरले आयोगलाई स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सवै सहयोग गर्न आफु प्रतिवद्ध रहेको भन्दै आयोगले अव वाँकी रहेका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । ‘‘भूमिहिन, सुकुम्बासीका समस्या लामो समयदेखि हल नहुँदा उनीहरुले व्यवहारिक हिसावले पनि अझै बढी कठिनाई भोग्दै आएका छन्, उहाँले भन्नुभयो, ‘‘स्थानीय सरकारले गर्नुपर्ने सवै खालका सहयोग गर्न तयार छौ, समन्वय गरेर काम छिटो समस्या हल गरौँ ।’’
गएको केही बर्ष भित्र मात्रै दुईवटा जिल्ला समिति भंग भइसकेको छ, जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख लिला परियारले भन्नुभयो, ‘‘यसबाट समस्या समाधानका लागि हामी अलमलिएको जस्तो देखिन्छ, अव यो पटक जसरी भएपनि समस्यालाई निस्कर्षमा पु¥याउने गरी काम गर्नुपर्छ ।’’ उहाँले जिल्ला समन्वय समितिका तर्फबाट जिल्लास्थित आयोगलाई आवश्यक समन्वय र सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘‘लामो समयदेखि आयोगले काम गर्दै त आएको छ, हजारौँ हेक्टर जमिन बाँझो भइरहेको अवस्थामा एक टुक्रा पनि जमिन आफ्नो नाममा नहुँदा तड्पिएर बसेका भूमिहिन सुकुम्बासीका समस्या समाधान हुन सकेको छैन, परियारले भन्नुभयो, ‘‘राज्यबाट लिनुपर्ने सेवासुविधाबाट उनीहरु बन्चित हुनुपर्ने अवस्था छ यी समस्यालाई अव धेरै परसम्म पु¥याउनु हुदैँन ।’’
उहाँले समितिले जतिसमय काम गर्ने अवसर प्राप्त गर्छ त्यति समय अत्यन्तै क्रियाशिल भएर काम गर्नुपर्नेमा जोडदिनुभयो । त्यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले अव जिल्लामा भूमि समस्या समाधान आयोग जिल्ला समिति गठन गर्न नपर्ने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । ‘‘आफुले गरेका काम मात्र ठिक हुन्छ भन्दापनि यसअघिका समितिले गरेका सकारात्मक र राम्रा कामलाई पनि मान्यता दिएर अहिलेको समिति अघि बढ्नुपर्छ, उहाँले भन्नुभयो,‘‘सवै पक्षलाई विश्लेषण गरेर छिटो समस्याको निकास दिनसक्ने गरी काम गर्नु आवश्यक छ ।’’
प्रजिअ पौडेलले सरकारले जिल्लामा आयोगको अध्यक्षसहितका सदस्य नियुक्त गर्दै गर्दा जिम्मेवार प्राप्त गर्ने सवैले जिम्मेवारी पुरा गरेर देखाउने अवसर पनि प्राप्त भएको बताउनभयो ।
भूमि समस्या समाधान आयोगका नवनियुक्त जिल्ला अध्यक्ष राजनराज पन्तले जिल्लामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या पूरा गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
‘‘आयोगले दिएको जिम्मेवारी समयमा सम्पन्न गर्नका लागि प्राप्त जिम्मेवारी वहन गर्न म प्रतिवद्ध छु, उहाँले भन्नुभयो, ‘‘यसअघि भएका कामलाई सकारात्मक रुपमा लिएर बाँकी रहेका कामलाई तत्काल अगाडी बढाउनेछु ।’’