गोरखा, ९ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले विकास र सम्बृद्धिले मात्र संविधानमा उल्लेखित जनताका सवै अधिकार स्थापित गर्न सकिने बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधान लेखिएका अधिकार अहिले कागजमा मात्र समिति बताउनुभयो ।
‘‘राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ, डा. भट्टराईले भन्नुभयो, ‘‘संविधानमा सवैका अधिकार त लेखिएको छन्, कहिँकतै पनि असमान त छैन, सवैलाई शिक्षा, स्वास्थ्यलगायतका समान अधिकारको व्यवस्था गरिएको छ तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र सम्बृद्धि नै चाहिन्छ ।’’
उहाँले अवको राजनीति देशलाई कसरी छिटो सम्बृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ‘‘मैले केही समय यतादेखि भन्दै आएको छु राजनीति भनेको गतिशिल हुन्छ यसलाई बुझेर अघि बढन्् सक्नुपर्छ, डा. भट्टराईले भन्नुभयो, ‘‘विंस २००७ साल, ०४७ साल, ०६२÷०६३ सालको राजनीतिले मात्र अव हुँदैन, अहिले ०८१ साल आइसक्यो ।’’
सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र सम्बृद्धि सम्भव नहुने उहाँको भनाई छ । ‘‘अवको विकास सम्बृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन, पूर्वप्रधानमन्त्री डा.भट्टराईले भन्नुभयो, ‘‘सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र सम्बृद्धि हुँदैन ।’’
उहाँले एउटै व्यक्ति बर्षौसम्म सत्तामा बस्ने तर देशमा देखिएका समस्यामा एकले अर्कोलाई दोष दिएर उम्कने प्रबृति अहिले हावी भएको बताउनुभयो । ‘‘ठूलाठूला नेताहरु कोही ३० बर्षदेखि कोही २० बर्षदेखि सत्तामा हुनुहुन्छ, डा.भट्टराईले भन्नुभयो, ‘‘पटक–पटक प्रधानमन्त्री भएरपनि अरुलाई दोष दिने प्रवृतिले देश बन्दैन ।’’
राजनीति सवै नीतिको मूल नीति भएकाले अहिले धमिलिएमने राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।