गोरखा, २३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गर्नुभएको छ ।
सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको बताउनुभयो । ‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन ।
उनीहरूको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ । उनीहरू त खाली मुखौटा मात्रै हुन्,’ प्रचण्डले भन्नुभयो । साथै, उहाँले रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गर्नुभएको छ ।
‘विचौलियाहरूले घुमाएर, आ–आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरूबाहेक केही पनि देखिएन,’ प्रचण्डले भन्ननुभयो । साथै, उहाँले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गर्नुभयो ।
‘अब फेरि जनताको तागत देखाउनुपर्ने भयो भनेर जनताको बीचमा गएर तागत केन्द्रिकृत गर्छु भनेको थिएँ । त्यही अनुसार हामी सबै प्रदेशमा गयौं,’ प्रचण्डले भन्नुभयो ।