गोरखा, १८ मङ्सिर ः चार दिनदेखि सम्र्पक विहिन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाक घर भएकी युवतीको आज शव फेला परेको छ ।
यहीँ मङ्सिर १५ गते शनिबार जंगलमा घाँस काट्न भनेर गएकी १८ बर्षकी सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
जंगलबाट सुचिना घर नफकिएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोली खोजतलासका क्रममा स्थानीय मैखर्कको जंगलमा खाल्डोमा पुरिएको अवस्थामा उहाँको शव फेला पारेको डिएसपी सुवेदीको भनाई छ ।
‘‘स्थानीयबासीको सहयोगमा दुई दिनदेखि युवतीको खोजी कार्य भइरहेको थियो, उहाँले भन्नुभयो,‘‘खोजतलासका क्रममा मैखर्क जंगलमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको हो ।’’ युवतीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासंग समन्वय गरी कुकुरसहितको विशेषज्ञको टोली अहिले अनुसन्धानका लागि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवं प्रहरी निरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिनुभयो ।
घटनास्थलमा जिप्रका गोरखाबाट डिएसपीको नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको उहाँको भनाई छ । घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।