गोरखा, १८ असोज । गोरखामा चाडपर्वलाई लक्षित गरी प्रहरीले सदरमुकामसहित दई ठाउँमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । दसैँ, तिहार, छठलगायतका पर्वका बेला यात्रुलाई पर्नसक्ने समस्याको सहजीकरणका लागि हरमटारी चोक र बाह्रकिलो बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिनुभयो ।
दसैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला यात्रुहरुको आवातजावत बढी हुने भएकाले लुटपाट घटना हुनसक्ने, यात्रु छलिन वा हराउनसक्ने र सवारी साधनले बढी भाडा लिनसक्ने भएकाले सहज रुपमा प्रहरीलाई जानकारी गराउन तथा समस्या समाधानका लागि समन्वय गर्न सजिलो होस् भन्ने उद्देस्यले सहायता कक्ष सञ्चालन गरिएको उहाँको भनाई छ ।
‘‘कतिपय वेला यात्रुले आवातजावतका लागि सवारी साधन नपाउने, तोकिएकोभन्दा महंगो भाडा तिर्नुपर्ने बाध्यता समेत हुनसक्छ् एसपी पाठकले भन्नुभयो, ‘‘त्यस्ताखालका समस्या पर्दा यात्रुले सहायता कक्षामा आएर सजिलै जानकारी दिनपनि सक्छन् र त्यहीँबाट समस्याको समाधान पनि गर्न सकिन्छ ।’’
यात्रुले यात्राका क्रममा सामान छुटेमा, हराएमा, टिकट बुकिङ गरी सवारी साधनले छोडेर गएमा वा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कोहीकसैबाट दुव्र्यवहार भएमा समेत सहायता कक्षमा खबर गर्न सक्नेछन् । सहायता कक्षमा नियमित रुपमा जनपथ प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।
त्यस्तै सहायता कक्षबाट चाडपर्वका बेला सवारी साधनको छतमा बसेर यात्रा गर्दा, जथाभावी बाटो काट्दा हुनसक्ने सम्भावित दुर्घटना रोक्नका लागि सचेतना प्रदान गर्ने र सवारी चालकले मादक पर्दाथ सेवन गरेर सवारी तत्काल कारवाही गर्ने एसपी पाठकको भनाई छ ।