काठमाण्डौं २२, चैत – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिनुभएको हो ।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भैसकेको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री ढकाले अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोना बाहेकका अन्य रोगका बिरामीले दुःख नपाउन भन्ने कुरामा राज्य संवेदनशिल रहेको पनि बताउनुभयो ।
उहाँले बिरामीको उपचार पनि बढाउन र अन्य अस्पतालसँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन निर्देशन दिनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाइ कुनै पनि किसिमको असुबिधा हुन नदिने बताए ।
न्याम्सका उपकुलपति डा देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताउनुभयो । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा बताउँदै सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिनुभयो ।