काठमाडौं, १७ चैत । काठमाण्डौको बीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ ।
रिपोर्ट आउन बाँकी नै रहेकाले उहाँहरुको मृत्युको कारण भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएकी महिला आइतबार साँझ अस्पताल भर्ना हुनु भएको हो ।