Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकीका सभामुख धिताल जनताको समस्या बुझ्न गाउँगाउँमा


3.1K
Shares

गण्डकीका सभामुख धिताल जनताको समस्या बुझ्न गाउँगाउँमा

गोरखा, १९ कात्तिक । गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिकामा गण्डकी प्रदेश सभाका सभामुख र स्थानीय सरकारबिच अन्तरक्रिया सम्पन्न भएको छ । जनताका गुनासो, आगामी बजेट, भएका योजनाहरूको कार्यान्वयनका विषयमा गण्डकी प्रदेश सभामुख कृष्ण धितालले स्थानीय सरोकारवाला, स्थानीय जनप्रतिनीधिहरुसँग छलफल र परामर्श गर्नुभएको हो ।

धार्चे गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै धितालले संघीयताको कार्यान्वयनका लागि स्थानीय सरकारले विशेष भूमिका निवार्ह गर्नुपर्ने बताउनुभएको छ । नेपालको संघीयताको बारेमा पछिल्ला भएका नकारात्मक टिप्पणीहरूबारे कुरा गर्दै धितालले हरेक निकायहरूले आफ्नो क्षेत्रबाट संघीयताको मोडल अनुरूप काम गर्दै सङ्घीयतालाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।

जनप्रतिनीधिहरुले जनताका समस्यालाई पहिचान गरी जनस्तर उकास्ने काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, परेका बजेट र योजनाहरूलाई सही रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारले भूमिका खेल्नुपर्छ । प्रदेश र सङ्घको योजनाहरू कार्यान्वयन गर्दा स्थानीयहरू, जनप्रतिनिधि, कर्मचारी सचेत भएर काम गर्न र योजना सफल बनाउनु लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा धार्चेका जनप्रतिनीधीहरुले आफ्नो वडा स्तरमा भएका समस्या, भएका योजना, आगामी योजना र बजेटका बारेमा सभामुखलाई अवगत गराएका थिए । धार्चेमा मुख्य समस्या भनेकै सडक योजना भएकाले सडक स्तरोन्नतिको लागी उनीहरूले आग्रह गरेका थिए । गोरखाको पर्यटकीय क्षेत्र चुम भ्याली, मनासलु सर्किट, गणेश हिमाल, उत्तरी नाका जोड्ने मुख्य सडक धार्चे हुँर्दै जाने भएकाले सडक सञ्जालको काम छिटो सम्पन्न गर्न सङ्घीय सरकारलाई जनप्रतिनीधिहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व राज्य मन्त्री छमबहादुर गुरुङले धार्चेको विकासमा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । भौगोलिक दृष्टिले पनि धार्चे कठिन भएकाले भएका स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध, सुरक्षित धार्चे बताउनुपर्ने बताउनुभयो ।

धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गाउँपालिकामा विकासका धेरै गतिविधि गर्न नसकिएकोले सङ्घ र प्रदेशको तर्फबाट योजनाहरू रातो किताबमै पारिदिन सभामुखसँग आग्रह गर्नुभयो । कार्यक्रममा पालिकाको समग्र आर्थिक, प्रशासनिक, भौगोलिक अवस्था समेटिएको कार्यपत्र प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले गर्नुभएको थियो भने स्वागत मन्तव्य पालिका उपाध्यक्ष सुनिला गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology