डोटी, २३ असार । घर भत्किँदा एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो । शनिबार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको र त्यसका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको छ। भत्किएको घरमा मृतक एक्लै रहेको उनका आफन्त तथा दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीले जानकारी दिए । उनका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन् । उनी कैलालीबाट आउँदै गरेको मलासी बताउँछन्।