गोरखा, २६ बैशाख : गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले न्यायोचित कार्य सम्पादन अहिलेको आबश्यकता रहेको बताउनु भएको छ । गोरखाकाृ ऐतिहासिक रामशाह चौतारोमा ७१ औँ कानुन दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै सभामुख धितालले कानुन र संबिधानको मर्म र भावनालाई बुझेर न्याय सम्पादन गर्नुपर्ने आबश्यकता रहेको औल्याउनु भएको हो ।
उहाँले ऐन कानूनहरु समेत आवश्यकताको आधारमा परिमार्जन गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । ‘कतिपय कानुनहरु हिजो ठिक भए पनि आज बदलिँदो समय क्रम अनुसार परिवर्तन गर्न जरुरी हुन्छ, उहाँले भन्नुभयो,‘ लामो समयमा एउटै ऐनकानुनले समाजको आबश्यकतालाई सम्बोधन गर्न नसक्ने पनि हुनसक्छ ।’
उहाँले कानुन आफैमा पनि गतिशिल बिषय भएकाले एउटै ऐन नियम तथा कानुनले बर्षौसम्मका समस्याहरुलाई हल गर्न नसक्ने उहाँको भनाई छ । कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायधिश डिल्लीराम आचार्यले गोरखा आफैमा नेपाल एकीकरणको थलो मात्र नभएर न्यायको क्षेत्रमा पनि यसले चर्चा पाएको बताउनुभयो ।
‘बिद्या हराए काशी जानु, न्याय हराए गोर्खा जानु’ भन्ने राजा राम शाहको पालादेखिको उखानले पनि गोर्खा न्याय फैसलाको निम्ति पनि ऐतिहासिक जिल्ला भएको उहाँको भनाई छ । न्यायधिश आचार्यले कुनै पनि फैसलाको पछाडि विविध कारण हुने बताउँदै फैसलालाई प्रभाव पार्ने झुट्टा बयान तथा टिका टिप्पणी नगर्न सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद फणिन्द्र देवकोटाले कानुन सबैका लागी बराबर भएकाले राज्यका निकायहरुले कुनै प्रभावमा नपरी काम कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जिल्लाका प्रमुख अधिकारी दिनेशसागर भुसाल, जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा, गोरखा नगरपालिका प्रमुख कृष्ण राना लगायतको सहभागिता रहेको थियो ।