कालीकोट,२५ बैशाख । कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ । सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेको कालिकोट प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न प्रहरी टोली त्यहाँ पुगेको थियो ।
उनका आफन्तले उल्टै प्रहरीमाथि ढुंगामुढा गरेका थिए । गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते प्रहरीको उद्धार र फरारलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल गएको छ । आरोपित बुढालाई प्रहरीले भेटाएर हत्कडी लगाई सदरमुकामतर्फ ल्याउँदै गर्दा आफन्तले ढुंगामुढा गरेका थिए। बुढामाथि ०७९ असोज ३१ गते स्थानीय दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको छ ।