रौटहट, २४ चैत्र । आफ्नो नाममा अरूलाई एसइई दिन लगाउने मेयरविरूद्ध पक्राउ पुर्जी जारी गरीएको छ । रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरूद्ध पक्राउ पुर्जा जारी गरिएको हो ।
आफ्नो नाममा अरूलाई नै एसइई परीक्षा दिन लगाएको आरोपमा उनीमाथि थप अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला अदालत रौतहटले शुक्रबार कानुविरूद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो ।
‘छानबिन गर्ने क्रममा मेयर कानुलाई थप अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ पुर्जी जारी गरिएको हो,’ उहाँले भन्नुभयो । चैत १९ गते मेयर कानुको नाममा परीक्षा दिइरहेका कमल साह पक्राउ परेका थिए । परीक्षा अनुगमन टोलीले मौलापुर नगरपालिकाअन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रबाट साहलाई पक्राउ गरेको थियो।
‘आफ्नो नाममा नक्कली परीक्षार्थी पठाएको देखिन्छ, दोषी ठहर भए परीक्षा नियमावलीअनुसार कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक बुढा मगरले भन्नुभयोे । प्रहरीले मेयर कानुमाथि थप अनुसन्धान गरिरहेको छ ।