काठमाण्डौ, २४ फागुन । अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएपछि गोरखा एक युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेपछि उक्त कार्यमा संलग्न रहेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याल पक्राउ गरेको हो । उक्त पार्सलबाट २.४ किलो गाँजा बरामद भएको व्युरोले जनाएको छ । उक्त पार्सल लिन पुगेका अर्याललाई काठमाण्डौको नागार्जुन–१ खरीबोटबाट पक्राउ गरिएको हो ।
उनलाई पार्सल ‘रिसिभ’ गर्ने मात्रै जिम्मा दिइएको बताइएको छ । होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ । ब्युरोको प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारतमा लग्न लागिएको अनुमान गरिएको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिनुभयो । त्यस्तै सोही कार्यमा संलग्न थप दुई जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरीले निगरानी राख्ने गर्छ । त्यही क्रममा गत आइतबार एउटा पार्सल आइपुगेको थियो। क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै उक्त पार्सल काठमाडौंमा आइपुगेको थियो। जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो।
पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको एसपी जोशीले जानकारी दिनुभयो । उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको ब्युरोले जनाएको छ।