गोरखा, २२ कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमस्थित स्वास्थ्य चौकीमा सात महिनामै बच्चा जन्माएकी महिला र अर्की गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजकुमार श्रेष्ठका अनुसार आइतबार बिहान फिलिम स्वास्थ्य चौकीमा ७ महिनाको शिशुलाई जन्म दिनुभएकी स्थानीय २९ वर्षीया सुन्तली गुरुङलाई थप उपचारका लागि उद्धार गरी काठमाडौँको थापाथली पठाइएको हो ।
शिशु समय नपुग्दै जन्मिएको र प्रसूतिको अवस्था हेरेर चिकित्सकले थप उपचारका लागि लैजानपर्ने बताएपछि उहाँलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको उहाँले बताउनुभयो ।
सुत्केरी हुने मिति नाघिसकेकी त्यस्तै ठाउँकी २३ वर्षीया सुप्रिया गुरुङको पनि स्वास्थ्य जाँचका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
दुवै महिला र नवजात शिशुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित थापाथली अस्पताल पठाइएको छ । उद्धारका बेला आमा र शिशुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।