कात्तिक,२२ काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको हो ।
गत वर्षहरूको तुलनामा यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को माग बढ्ने अनुमान गरिएको छ । तिहारमा घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले साँझको समयमा विद्युत्को माग उच्च हुने गर्छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको साँझ अनुमान गरिएको माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुनेछ । उनका अनुसार उक्त समयमा विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण छ । यसले गर्दा मागभन्दा उत्पादन बढी हुने र आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उहाँले बताउनुभयो ।
लक्ष्मीपूजाको साँझ विद्युत्को माग पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको छ । २०७९ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ३ सय ५ मेगावाट थियो । २०८० सालमा बढेर १ हजार ४ सय ३८ मेगावाट पुगेको थियो भने २०८१ सालमा १ हजार ६ सय २ मेगावाट पुगेको थियो । गत वर्ष २०८२ सालको लक्ष्मीपूजामा यस्तो माग १ हजार ६ सय ५० मेगावाट पुगेको थियो ।
यस वर्ष प्राधिकरणले गरेको प्रक्षेपणअनुसार माग १ हजार ७०० मेगावाट पुग्नेछ । अर्थात् चार वर्षको अवधिमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब ४ सय मेगावाटले बढ्ने देखिएको छ । यस वर्ष विद्युत्को मागभन्दा उत्पादन बढी भएकाले आपूर्तिमा समस्या नआउने प्राधिकरणले जनाएको छ ।
तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त राख्ने तयारी गरेको छ । पर्व अवधिभर प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने तथा प्रसारण लाइन र वितरण प्रणालीमा हुन सक्ने समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या आउन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । नो लाइट सेवामा प्राप्त हुने गुनासो तत्काल सम्बोधन गर्न र आवश्यक मर्मतसम्भारका लागि प्राविधिक टोली तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।