दाङ,२८ पुस । दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. १० जलौराका १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो ।
उपचारका क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति १ः ४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिनुभयो । सोही ठाउँका मोटरसाइकल चालक १९ वर्षीय मंगल चौधरी र २३ वर्षीय ऋषिराज चौधरीको अवस्था गम्भीर छ । उनीहरू दुबै जनालाई राति ३ बजेतिर थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।
मध्यराति साढे १२ बजेतिर घोराही–११ अवलडाँडाबाट वडा नं. १० नारायणपुरतर्फ आउँदै गरेको रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि झन्डै १५ मिटर तल खेतमा पुगेको थियो । जिल्ला प्रहरी प्रवक्ता गौतमले तीनै जनाले मदिरा सेवन गरेको र चालकसँग सवारी चालक अनुमति पत्र समेत फेला नपरेको बताउनुभयो।