गोरखा, १५ कात्तिक । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को उमेद्वारीले यस क्षेत्रका जनतामा बिकासको आशा र चुनावको उत्साह देखिएको छ । उमेद्वारी दर्तापछि पहिलो पटक मतदाता भेटघाटका लागि दुईदिन आफ्नो निर्वाचन क्षेत्र भित्रको टोलटोलमा पुग्नु भएका प्रचण्डलाई भेट्न र हेर्न समेत मतदाताहरु आतुर देखिन्थे ।
गोरखा–२ अन्र्तगत प्रदेशसभा (क) का उमेद्वार फडिन्द्र देवकोटा र (ख) का उमेद्वार सुरेन्द्रराज पाण्डेलाई लिएर निर्वाचन क्षेत्रमा पुग्नु भएका प्रचण्डले मतदाताहरुसंगको भेटघाटमा भोट मात्र माग्नु भएन बिकास निर्माणको अबस्थाको पनि जानकारी लिन भ्याउनुभयो । बारपाक सुलिकोट गाउँपालिकाको सिमानामा पर्ने भीमसेन थापा गाउँपालिकाको बगुवाबाट शनिबार निर्वाचन क्षेत्र प्रवेश गर्नुभएका प्रचण्ड आइतबार पालुङटार नगरपालिकाको नयाँ पुलसम्म आइपुग्दा झण्डै ४४ स्थानका मतदाता भेटघाट गरी जनताका समस्या सुन्दै, समस्याहरुको पहिचान गर्दै सडक स्तरोन्नती, कृषि क्षेत्रको बिकास लगायतका थुपै काम गर्नुपर्ने आबश्यकता रहेकाले आफ्नो कार्यकालमा ति कामहरु गर्ने प्रतिबद्धता पनि मतदाता माँझ गर्नुभयो ।
निर्वाचन क्षेत्रमा प्रवेश गरेदेखि धुलाम्मे सडक र खाल्डाखुल्टी पार गर्दै मतदाता भेटघाट गर्न पुग्नु भएका उहाँले जनतासंग सडक निर्माण आफ्नो प्राथामिकतामा रहेको बताउनुभयो । ‘चितवनमा ०७४ को निर्वाचन लड्दा मैले यस्तै धुलाम्मे सडकमा हिडेर भोट मागेको थिए, उहाँले भन्नुभयो, करिब ५ बर्षमा चितवनमा ६ सय किलोमिटर भन्दाबढी सडक कालोपत्रे भएका छन्, अब गोरखामा पनि ५ बर्ष सडक कालोपत्रे गर्ने कुरा मेरो पहिलो प्राथामिकता हुन्छ ।’ दुई दिनसम्मको यात्राका क्रममा जता गयो त्यतै धुलाम्मे सडकले यहाँको जनताको कठिनाइलाई नजिकबाट बुझ्ने अबसर प्राप्त भएको भन्दै उहाँले जनताको समस्या आफ्नो पनि समस्या भएको बताउनुभयो । ‘अघिल्लो जनप्रतिनिधिहरुको पहलमा गोरखामा पूर्वांधार बिकासको थुप्रै काम सुरु गरिएको मैले पाए’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यि बिकास निर्माणका कामलाई अन्तिम निस्कर्षमा पु¥याउने काम मैले चुनाव जितेर गएपछि पुरा हुन्छ ।’
गोरखा दुईका मतदाताले पनि प्रचण्डलाई भव्य स्वागत मात्र गरेनन् बिकासका लागि थुप्रै माग पनि तेर्साए । कतै पुल निर्माण, कतै सडक कालोपत्रे त कतै खानेपानीको समस्या भएको मतदाताहरुले प्रचण्डलाई सुनाउन भ्याए । ‘अहिलेसम्म टिभीमा मात्र हेर्न पाएका थियौ, यसपाली त प्रत्यक्ष भेट्न पाउदा खुशी नहुने कुरा कुरै भएन, पालुङटार नगरपालिका बिर्दीकी स्थानीयबासी शशिकला ढकालले भन्नुभयो, ‘प्रचण्डले हाम्रो क्षेत्रमा चुनाव लड्ने कुराले हामीलाई थप उत्साहित बनाएको छ ।’ उहाँले निर्वाचनमा कुन पार्टीको उमेद्वार भन्दा पनि ठूलो नेताले आफ्नो क्षेत्रमा चुनाव जिते छिटो बिकास हुने अपेक्षा रहेको बताउनुभयो । ‘भोट त सधै हालेका नै हौ, तर हामीले सोचे जस्तो बिकास भएको छै’ ढकालले भन्नुभयो, ‘यो पटक प्रचण्ड नै यहाँ आएर चुनाव लडेपछि अब त केही हुन्छ भन्ने मलाई लागेको छ ।’
उहाँले आफूहरुलाई बिकास चाहिएकाले बिकास गर्नसक्ने नेतालाई चुनाव जिताएर पठाउन पाए केही हुन्छ भन्ने लागेको बताउनुहुन्छ । आफ्नो टोलमा मतदाता भेटघाटमा आउनु भएका प्रचण्डलाई भेट्न पाएपछि अजिरकोट गाउँपालिका भच्चेकका ऋषिराम देवकोटामा खुशीको सिमा नै रहेन । ‘प्रचण्ड आउने थाहा पाएपछि टाढैबाट भएपनि हेर्छु भनरे आएको थिएँ, उहाँले भन्नुभयो, हेर्न मात्र होइन फुलमाला लगाएर कुरा गर्न पनि पाएपछि म त दंग छु ।’ देवकोटाले दुई पटकसम्म डा. बाबुराम भट्टराईलाई जिताएर पठाएको भन्दै यो पटक प्रचण्डलाई भोट हालेर जिताएर पठाउने बताउनुभयो । ‘बाबुरामले पनि नगर्नु भएको होइन यस क्षेत्रका लागि धेरै गर्नुभयो, देवकोटाले भन्नुभयो,‘ अब झन प्रचण्ड नै जित्यो भने झनै धेरै बिकासको काम हुन्छ भन्ने लाग्छ ।’ उहाँले गोरखा जिल्लामा बिकास निर्माणका काम गर्न धरै बाँकी रहेको भन्दै ठूला नेता यहाँ आएर चुनाव लड्नु गोरखाका जनताको लागि सौभाग्य भएको बताउनुभयो ।