गोरखा २८, असोज (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफु गोरखा आएको कुरा जीत र हारसंग सम्बन्धित बिषय हुदै नभएको बताउनु भएको छ । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकाम स्थित पार्टी कार्यालयमा आज आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले पार्टी नयाँ रुपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पस्ट पार्नुभयो ।
‘म गोरखा आएको पार्टी निर्माण, रुपान्तरण र क्रान्तिकारी बिऊ बचाउनका लागि हो, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यहाँ जीत र हारको कुरा त प्रतिक्रियाबादीहरुको टिप्पणी मात्र हो ।’ उहाँले चितवनबाट गोरखा आउदाँ चितवनका राजनीतिक दल, नेता कार्यकर्ताहरुमा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताउनुभयो ।
‘प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आंतक नै भयो, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादी नेता कार्यकर्ता मात्र होइन काग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिहरु समेत हामी जिताउछौ तपाई चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियाबादीहरु भने हारको भ्रम फैलाइरहेका छन् ।’
अर्को फरक पं्रसगमा अध्यक्ष प्रचण्डले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको समेत बताउनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ लक्षित गर्नुहुदै उहाँले संविधान च्यात्ने काम भयानक षड्यन्त्रका साथ गरिएको भन्दै युद्ध अझै जारी रहेको बताउनुभयो ।
‘ठूलो षड्यन्त्र गरेर संसद बिघटन गरिएको थियो, उहाँले भन्नुभयो, हामीले केपीलाई त्यतिबैलै पनि परास्त गरेका थियौ, पार्टीमा झण्डै दुई तिहाई हाम्रो पक्षमा थियो तर भयङ्कर षडयन्त्र गरेर हराइयो ।’