बिमल श्रेष्ठ
काठमाडौं, ८ असोज। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनु भएको छ।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमाथि अमेरिका र चीनको तानातान बढेको बताउनु भएको हो ।
भूराजनीतिक संकटका कारण देशमा संघीयता कमजोर पार्ने, अर्थतन्त्र कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
‘जुन भूराजनीतिक संकट चीन–अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनु भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको पनि उहाँले बताउनुभयो ।
‘अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अंगहरु, राज्यका सबै अंगहरु बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्’ भट्टराईले भन्नुभयो, ‘त्यसले हामीले यत्रो सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ ।’