भूमि गोतामे
गोरखा १०, भदौ । नेपाली समाजमा मनाइने अनेकौं चाडपर्वहरुमध्ये तीज पर्व एक ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्त्व बोकेको चाड हो। यो पर्व विशेषगरी महिलाहरुले धुमधामका साथ मनाउने गर्छन्। हिन्दू धर्मावलम्बीहरुको मान्यता अनुसार तीज पर्व भगवान शिव र देवी पार्वतीको पुनर्मिलनको रूपमा मनाइन्छ। साथै, यो पर्व नेपाली नारीहरुको सुख, समृद्धि, दीर्घायु र अखण्ड सौभाग्यको कामनासँग जोडिएको छ। तर आधुनिकता र बदलिँदो सामाजिक परिवेशले गर्दा यस पर्वको मौलिकता र साँस्कृतिक पहिचानमा विकृतिहरु भित्रिदै गएका छन्।
तीज पर्वको साँस्कृतिक महत्त्व अपार छ। यो पर्व नेपाली समाजमा रहेको सामूहिकता, सहकार्य र सांस्कृतिक एकताको प्रतिक हो। अघिल्लो रातमा दर खाएर तीजको दिनमा निराहार ब्रत बसी रात्री भरी जाग्राम बसेर भगवान शिव र देवी पार्वतीको पूजा आजा गर्ने चलन छ। यसबाट नेपाली महिलाहरुमा धार्मिक भावनाको साथसाथै सामाजिक सद्भावना पनि बढ्दछ। धार्मिक दृष्टिकोणले हेर्दा तीज पर्वले विवाहित महिलाहरुलाई आफ्नो श्रीमानको दीर्घायुको कामना गर्ने मौका दिन्छ भने अविबाहित कुमारी कन्याहरुलाई सुन्दर र मनपर्दो वर पाउने वरदान दिन्छ भन्ने विश्वास रहेको छ।
यसैगरी, तीज पर्वले समाजमा रहेका महिलाहरुबीचको भावनात्मक जडानलाई मजबुत बनाउँछ। तीजको दिन महिलाहरु सौभाग्यको शृङ्गार गर्छन। रातो चोलो , साडी लगाउँछन।चुरा, पोते, सिन्दूर जस्ता शृङ्गारका सामग्रीहरु धारण गर्छन्। यी सबै नेपाली सभ्यता र संस्कृतिको अमूल्य सम्पदा हुन्। सामाजिक रूपमा हेर्दा तीज पर्वले महिलाहरुलाई आफ्नो परम्परा, संस्कृति र इतिहाससँग जोड्ने काम गर्छ। यो चाड महिलाहरुका लागि मात्र सीमित भएतापनि यसले सम्पूर्ण परिवारलाई आनन्दित बनाउँछ। यसले आपसी प्रेम, सद्भावना र आत्मियतालाई बढावा दिन्छ। तीज पर्व नेपाली संस्कृतिमा एउटा भावनात्मक आबद्धता कायम गर्ने महत्त्वपूर्ण चाड हो।
आधुनिकताको प्रभावले गर्दा नेपाली समाजमा पनि धेरै परिवर्तनहरु आएका छन्। यसले गर्दा तीज जस्ता पारम्परिक चाडपर्वहरुमा पनि विकृतिहरु भित्रिन थालेका छन्। अहिलेको तीज पर्वमा देखिने सबैभन्दा ठूलो विकृति भनेको बढ्दो भौतिकवादिता हो। पहिलेको समयमा तीज साधारण ढङ्गले मनाउने गरिन्थ्यो। महिलाहरु साधारण लुगा लगाएर, सादा भोजन खाएर, सामूहिक रूपमा गीत गाएर तीज मनाउने गर्थे। तर अहिले यो चाडमा धेरै हदसम्म आडम्बर, फेसन, महिनौँदिनसम दिवा खाजा भित्रिएको छ।
उच्च ओहोदादेखि सामान्य तहका कर्मचारी हुन वा निर्वाचित जनप्रतिनिधिहरु हुन , सबै कुनै न कुनै रुपमा महिनौँसम्म दर खान हतारिएको देखिन थालेको छ। हुन्छ।विगत केही बर्ष यता आएर सरकारी कर्यालय , मन्त्रालय, पालिका, वडा, विद्यालय समेत यस पर्वको साँस्कृतिक महत्त्वको नाममा कामकाजै छोडेर तीज अगाडि र पछाडी समेत आधुनिक तीज मनाउन उद्दत भएको पाइन्छ।कतिपय स्थानीय तहले त दर खाने शीर्षकमा बजेट नै छुट्याउने गरेको देखिन्छन्।
यसबाट समाजको मात्र नभइ देशकै आर्थिक उत्पादनशीलता, नागरिक चेतनास्तर, संस्कृतिप्रतिको जनविशवास, राज्यको परम्परा संस्कृति संरक्षण प्रतिको दृष्टिकोण स्पस्ट हुन्छ। यस्ता कुराहरु साँस्कृतिक विकृति हुन । अहिले तीजको नाममा महिलाहरु महँगा परिधानहरु, गहनाहरु खरीद गर्छन्। तीजको अवसरमा महिलाहरुबीच आपसमा प्रतिस्पर्धा हुने गरेको छ। कसले बढी महँगो साडी लगाएकी छिन्रु कसको गहना ठुलो छरु भन्ने हेर्ने प्रवृत्ति बढेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर महिलाहरुमा हीनभावना पैदा हुन्छ। साथै, तीजको अवसरमा महँगा रेस्टुरेन्टहरुमा जाने, महँगो उपहारहरु आदानप्रदान गर्ने चलनले यसको मौलिकतालाई नै हानी पुर्याएको छ।
अर्को विकृति भनेको सामाजिक मिडियाको प्रभाव हो। अहिलेको युगमा सामाजिक मिडियाले मानिसहरुको जीवनशैलीमा नै परिवर्तन ल्याएको छ। तीजको अवसरमा पनि महिलाहरु आफ्नो फोटो सामाजिक मिडियामा पोस्ट गर्न, लाइक र कमेन्ट बटुल्नमा बढी रुचि देखाउँछन्। यसले गर्दा तीजको वास्तविक उद्देश्य र आध्यात्मिक पक्ष पछाडि पर्दै गएको छ। महिलाहरु आफूलाई सामाजिक मिडियामा हेराइकन बनाउनमा व्यस्त छन्।
साथै, तीज पर्वमा भएको व्यावसायीकरणले पनि यसको मौलिकतालाई हानी पुर्याएको छ। बजारमा तीजको नाममा विभिन्न प्रकारका प्याकेज, अफरहरु देखिन थालेका छन्। होटल, रेस्टुरेन्ट, शपिङमलहरुले तीजको नाममा विशेष छुट दिने, उपहार दिने जस्ता योजनाहरु सञ्चालन गर्छन्। यसले गर्दा तीज पर्व एउटा व्यावसायिक चाडको रूपमा परिणत हुदै गएको अर्को सांस्कृतिक विकृति भनेको तीजको पारम्परिक गीत, संगीत र नृत्यहरुको ह्रास हो।
पहिलेको समयमा तीजको अवसरमा महिलाहरुले देवी पार्वती र भगवान शिवको महिमा गाउने, लोकगीतहरु गाउने, पारिवारिक दुख सुख, सामाजिक सद्भाभका गीतहरु गाउने, लाखेजात्रा जस्ता सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने गर्थे। तर अहिले यी पारम्परिक गीतहरुको सट्टा आधुनिक फिल्मी गीतहरु, रिमिक्स गीतहरु बज्न थालेका छन्। यसले गर्दा नेपाली संस्कृतिको अमूल्य सम्पदा हराउँदै गएको छ।
तीज पर्वमा भएको पारिवारिक परम्पराको ह्रास पनि एउटा विकृति हो। पहिलेको समयमा तीजको अवसरमा छोरीहरु आफ्नो माइत जान्थिन्, आफ्ना बुबा आमा, दाजुभाइ, बहिनीहरुसँग भेटघाट गर्थिन्। तर अहिले शहरीकरणले गर्दा धेरै परिवारहरु टुक्रिएका छन्। छोरीहरु टाढा बस्छन्, समयको अभावले गर्दा माइत जान सक्दैनन्। यसले गर्दा तीजको पारिवारिक महत्त्व पनि घट्दै गएको छ।
यी विकृतिहरुबाट तीज पर्वको मौलिकता र सांस्कृतिक पहिचानलाई बचाउन मौलिक संस्कृति संरक्षणको आवश्यकता छ। संस्कृति समाज र राष्ट्रको आत्मा हो। यसले राष्ट्रिय एकताको भावना बलियो बनाउँछ। तीज जस्ता पारम्परिक चाडपर्वहरु हाम्रो सांस्कृतिक विरासतको अभिन्न अंग हुन्। यिनीहरुको संरक्षण गर्नु भनेको हाम्रो पहिचानलाई संरक्षण गर्नु हो।मौलिक संस्कृति संरक्षण गर्न सबैभन्दा पहिले सामूहिक चेतनाको आवश्यक छ ।समाजका सबै वर्गका मानिसहरुले आफ्नो संस्कृतिको महत्त्व बुझ्नु पर्छ।
तीज पर्वलाई मनाउने ढङ्गमा परिवर्तन ल्याउनु आवश्यक छ। यसलाई सादा ढङ्गले, आडम्बर रहित रूपमा मनाउनु पर्छ। महँगा लुगा, गहना, उपहारको प्रदर्शनीबाट टाढा रहनु पर्छ।सरकारले पनि सांस्कृतिक संरक्षणका लागि ठोस कदम चाल्नु पर्छ। तीज लगायतका पारम्परिक चाडपर्वहरुलाई संरक्षण गर्न कानुन बनाउनु पर्छ। सांस्कृतिक कार्यक्रमहरु, लोकगीत, नृत्य, संगीतलाई प्रोत्साहन दिनु पर्छ। स्कूल, कलेजहरुमा सांस्कृतिक शिक्षालाई समावेश गर्नु पर्छ।
यसबाट नयाँ पुस्तालाई आफ्नो संस्कृतिको जानकारी हुनेछ।मिडियाहरुले पनि सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। तीजको अवसरमा मिडियाहरुले यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई उजागर गर्ने, पारम्परिक गीतसंगीतलाई प्रसारण गर्ने, आधुनिकताबाट हुने विकृतिको विरोध गर्ने कार्यक्रमहरु प्रसारण गर्न सक्छन्। परिवारले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्छ।
आमाबाबुले आफ्ना छोराछोरीलाई आफ्नो संस्कृति, परम्परा र चाडपर्वहरुको बारेमा जानकारी दिनु पर्छ। तीजको वास्तविक उद्देश्य र महत्त्वबारे बताउनु पर्छ। यसबाट नयाँ पुस्तामा सांस्कृतिक चेतनाको विकास हुनेछ।सामाजिक संस्थाहरु, सांस्कृतिक संगठनहरुले तीज जस्ता चाडपर्वहरुलाई मौलिक रूपमा मनाउने अभियान चलाउनु पर्छ। तीजको अवसरमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्नु पर्छ। लोकगीत, लोकनृत्य, पारम्परिक संगीतलाई बढावा दिनु पर्छ।
तीज पर्व नेपाली समाजको गौरवशाली सांस्कृतिक विरासत हो। यसले हाम्रो सभ्यता, संस्कृति र इतिहासलाई प्रतिबिम्बित गर्छ। तर आधुनिकताको चपेटामा परेर यसको मौलिकता ह्रास हुदै गएको छ। यसबाट यसको सांस्कृतिक पहिचानलाई खतरा उत्पन्न भएको छ। त्यसैले यसको संरक्षण गर्नु हामी सबैको नैतिक दायित्व हो। हामीले आफ्नो सांस्कृतिक विरासतलाई संरक्षण गर्न सकेमा मात्र हाम्रो पहिचान कायम रहन्छ। तीज पर्वलाई यसको मौलिक रूपमा मनाउनु, यसको वास्तविक उद्देश्यलाई कायम राख्नु, र यसबाट सामाजिक सद्भावना र एकतालाई बढावा दिनु नै हाम्रो लक्ष्य हुनुपर्छ।
सांस्कृतिक संरक्षणको बाटोमा हामी सबैले कदम चालौं, तीज जस्ता पारम्परिक चाडपर्वहरुलाई हाम्रो असल संस्कृतिको रूपमा कायम राखौँ।यस पर्वको मौलिकतामा ह्रास आउने कुनै पनि प्रवृत्ति प्रति सचेत हुँदै जनस्तर र सबै तहका सरकारबाट समयमा नै उचित कदम चाल्नु आवश्यक छ ।
लेखक नेपाल शिक्षक महासंघ भीमसेन थापा गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ ।