गोरखा, १५ साउन । गोरखाकोे बारपाक सुलिकोट गाउँपालिकाले आगामी भदौ महिनामा निःशुल्क दन्त शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित सौरपानी हुँडी फाँटमा शिविर सञ्चालन गरिने जानकारी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।
सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पतालमा भदौ ५ गतेदेखि ६ गतेसम्म शिविर सञ्चालन हुनेछ । दन्त उपचार सेवा आवश्यक पर्ने सम्पूर्ण बिरामीहरूलाई उक्त शिविरमा उपस्थित भई स्वास्थ्य सेवा लिन गाउँपालिकाले अनुरोध गरेको छ ।
उहाँका अनुसार उक्त शिविर बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको हो । शिविरका लागि मुटु फाउन्डेसन, काठमाडौँ र मनोज एसोसिएसन, फ्रान्सले प्रायोजन गरेका छन् भने ओम समाज डेन्टल अस्पताल, काठमाडौँले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । दुई दिनसम्म चल्ने सो शिविरबाट स्थानीय स्तरमा दाँतका बिरामीहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।