काठमाडौ, २७ चैत । महिनावारीको समयमा रक्तस्राव हुँदा केही मात्रामा त्यहाँ जम्मा हुँदै जान सक्छ । त्यो रगत बाहिर निस्कन नपाएर प्रायस् डिम्बाशयमा जम्मा भई सिस्ट रुपमा बढ्न थाल्छ । यो सँगै दुखाइ पनि बढ्न थाल्छ ।
तल्लो पेट दुखिरहने र महिनावारी गडबड हुने समस्या के हो ?
प्रसूति तथा स्त्री रोगको ओपीडीमा अधिकांश महिला महिनावारीका बेलामा हुने तल्लो पेट दुखाइको समस्या लिएर आउने डा. कुमकुम झा बताउनुहुन्छ ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। झा थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत हुनुहुन्छ । महिनावारीका बेला सहन सकिने खालको दुखाइ हुनु सामान्य भए पनि सहनै नसकिने दुखाइ छ भने कतै ‘एन्डोमेट्रोसियस’ त होइन ? भन्ने शंका गर्नुपर्ने उहाको भनाइ छ ।
यो समस्याको समयमै उपचार नभए बाँझोपनको पनि समस्या हुनसक्ने डा। झाले बताउनुभयो । ‘एन्डोमेट्रोसियस’ कस्तो स्वास्थ्य समस्या हो ? यसले गर्दा किन महिनावारीमा समस्या हुन्छ ? यो कतिको साझा समस्या हो ? उपचार कतिको सम्भव छ ?
‘एन्डोमेट्रोसियस’ कस्तो समस्या हो ?
पाठेघरका तीन तहमध्ये भित्रीलाई ‘एन्डोमेट्रियम’ भनिन्छ । एन्डोमेट्रियमले महिनावारी हुँदा रक्तस्रावमा भूमिका खेल्छ । तर यसैको तन्तु असामान्य रुपमा पाठेघरको बाहिर रहन गयो, बढ्न थाल्यो भने यसलाई एन्डोमेट्रियोसिस भनिन्छ ।
महिलाको पाठेघरको बाहिर विशेषगरी डिम्बाशयमा एन्डोमेट्रियमको तन्तु रहन सक्छ । महिनावारीको समयमा रक्तस्राव हुँदा केही मात्रामा त्यहाँ जम्मा हुँदै जान सक्छ ।त्यो रगत बाहिर निस्कन नपाएर प्राय ः डिम्बाशयमा जम्मा भई सिस्ट तरल पदार्थ भरिएको फोकाको रुपमा बढ्न थाल्छ । यो सँगै दुखाइ पनि बढ्न थाल्छ ।
यो समस्यालाई चिकित्सकहरूले ‘चकलेट सिस्ट’ पनि भन्ने गर्छन् । किनकी, उक्त सिस्टमा हुने तरल पदार्थ रगत र पानीको मिश्रण हुन्छ । जुन गाढा खैरो रंगको हुन्छ, त्यो हेर्दा देख्दा पग्लिएको चकलेट जस्तो देखिन्छ ।
यो समस्या किन हुन्छ ? को बढी जोखिममा पर्छन् ?
यो समस्या किन हुन्छ भन्ने अहिलेसम्म स्पष्ट कारण फेला परेको छैन । तर चिकित्सा विज्ञानले यसका सम्भावित कारणहरू औँलाएको छ । यदि परिवारमा आमा, दिदी, हजुरआमालाई एन्डोमेट्रियोसिस भएको छ भने, यो हुने सम्भावना बढी हुन्छ।
अर्को कारण भनेको कमजोर वा असामान्य प्रतिरक्षा प्रणालीले शरीरमा गलत ठाउँमा बढेको तन्तुलाई नष्ट गर्न नसक्दा यो समस्या हुन सक्छ । इस्ट्रोजन हर्मोनको उच्च स्तरले एन्डोमेट्रियल तन्तुको असामान्य वृद्धिलाई प्रोत्साहन गर्नसक्छ ।
केही अध्ययनले रसायन जस्तै डाइअक्सिन वा प्रदूषणको सम्पर्कमा आउँदा यो समस्या बढ्न सक्ने संकेत गरेका छन्।सिजेरियन वा अन्य पेटको शल्यक्रियापछि एन्डोमेट्रियल कोषहरू गलत ठाउँमा सर्न सक्छन् । साथै, कोषहरूको असामान्य परिवर्तनले पनि यो हुन सक्छ ।
एन्डोमेट्रियोसिस भएमा गर्भधारणमा समस्या हुन्छ ?
एन्डोमेट्रियोसिसपछि गर्भधारणमा समस्या हुन्छ । किनकी, यो अवस्थामा डिम्बाशयमा गएर रगत जमेर बसिदिन्छ । जसले गर्दा महिनामा एकपटक निस्कनु पर्ने सामान्य अण्डा निस्कन पाउँदैन ।
जसले गर्दा निषेचन हुन नपाउँदा गर्भ रहने सम्भावना कम हुन्छ । कतिपय अवस्थामा त निःसन्तानपनको जोखिम नै बढ्ने गर्छ । डिम्बाशय महिलाको प्रजनन प्रणालीको एक महत्त्वपूर्ण अंग हो, जसले डिम्ब भण्डारण गर्ने, महिनावारी भएपछि एकपटकमा एउटा डिम्ब निस्काशन गर्ने ‘इस्ट्रोजन’ तथा ‘प्रोजेस्टेरोन’ जस्ता हर्मोनहरू पनि बनाउँछ ।
त्यस्तै, एन्डोमेट्रियमले नै गर्भ रहेपछि सुरुको चरणमा भ्रुण बन्न सुरक्षा दिन्छ । जब एन्डोमेट्रियमका केही अंश गर्भाशयको बाहिर फैलिएर एन्डोमेट्रियोसिस बन्छ, तब यो समस्या बन्न सक्छ।
यो समस्याले २५ देखि ४० वर्ष उमेरका महिलालाई सताउन सक्छ । कसैलाई किशोरावस्थामा पनि सताउन सक्छ ।रजनोवृत्तिपछि भने केही राहत मिल्न सक्छ ।
यो कत्तिको साझा समस्या ?
यो समस्या लिएर अस्पताल आउने संख्या पहिलाको भन्दा बढ्दै गएको देखिन्छ । यसको कारण भनेको अहिले आधुनिक जीवनशैलीले महिनावारीको समय ११ ÷१२ वर्षमै सुरुवात हुनथाल्यो ।
अनि अहिले करियरलाई प्राथमिकता दिने, विवाह ढिला गर्ने संख्या बढिरहेको छ । जसले सन्तानको योजना पनि ढिला हुन्छ । फलस्वरुप, लामो समयसम्म लगातार सधैं महिनावारी हुँदा हर्मोन एक्सपोजर बढी हुन्छ । जसले गर्दा यस्तो समस्या देखिने संख्या पनि बढ्दो देखिन्छ । यो समस्या भनेको महिनावारी नसुक्ने बेलासम्म मात्र सताउने समस्या हो ।