Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

उत्तरी गोरखाको नुब्री भ्यालीमा पुनः भारी हिमपात


2.3K
Shares

उत्तरी गोरखाको नुब्री भ्यालीमा पुनः भारी हिमपात

गोरखा, ५ फागुन । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातीदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयबासी निमा लामाले बताउनुभयो । ‘‘लामो सुख्खापछि गएरातीदेखि दोस्रो पटक हिउँ परेको हो, उहाँले भन्नुभयो ‘‘दुईदिन अगाडी सामान्य हिउँ परेको भएतापनि अहिले परेको हिउँ यो सिजनै सवैभन्दा ठूलो हिमपात हो ।’’

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाई छ । मध्यराती १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ ।

भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयबासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र ईन्टरनेट सेवामा समेत समस्या भइरहेको लामाले बताउनुभयो । ‘‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उहाँले भन्नुभयो ‘‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।’’

हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रर्दशक सूर्य खनालले जानकारी दिनुभयो । ‘‘पर्यटकलाई लिएर लार्केपास जानसक्ने अवस्था छैन, उहाँले भन्नुभयो, ‘‘पर्यटकसहित हामी साम्दोको होटलमा आश्रय लिएर बसिरहेका छौ ।’’ मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्केपास गरी मनाङ जाने पर्यटकहरु प्रभावित भएको उहाँको भनाई छ ।

यता लामोसमयपछिको हिमपात सुरु भएसंगै स्थानीयबासी खुशी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भएपनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासी खुशी भएका हुन् । स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसंगै करु खेती राम्रो हुने भएकाले खुशी भएका हुन् ।

त्यस्तैगरी सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताउनुभयो । सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ । चुमभ्याली तर्फभने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology