गोरखा, १८ माघ । गोरखामा आफै चढेको ट्याक्टरले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ बर्षीय रामबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
ना ६ त ९६३० नम्वरको ट्याक्टर चढेर आर्खेतबाट माछिखोला जाने क्रममा ट्याक्टरबाट खस्न गई पछाडीको टायर कुल्चिएर रानाकोे मृत्यु भएको उहाँले बताउनुभयो ।
‘शुक्रवार बिहान करिव २ बजेको समयमा आरुघाट माछिखोला सडकखण्डको खुर्सानी भन्ने स्थानमा उनी मृत फेला परेकाथिए,’डिएसपी सुवेदीले भन्नुभयो,‘प्रारम्भिक अनुसन्धानले ट्याक्टरबाट खसेर ज्यान गएको खुल्न आएको छ ।’
शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।