गोरखा, १४ माघ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वटा जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर–२ स्थित रुन्चेत र वडा नम्बर ३ स्थित लुसिकाङ जोड्ने ‘बुढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।
रु १ करोड ३३ लाख ९४ हजार ७ सय ५२ रुपैयाँको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । कादुरी एग्रीकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाजको रु १ करोड ३२ लाख १८ हजार ७ सय ५२ रुपैयाँ र स्थानीय जनश्रमदान बापतको रु १ लाख ७६ हजारको लागतमा झोलुङ्गे पुल निर्माण भएको उहाँको भनाई छ ।
विंस २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । नवनिर्मित झोलुङ्गे पुलको आइतबार एक कार्यक्रमका विच उद्घाटनसमेत गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । पुल निर्माण भएसंगै त्यस क्षेत्रका स्थानीयबासीलाई आवतजावतमा निक्कै सहज भएको छ ।