Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

 विपन्न समुदायका तीन हजारलाई कपडा वितरण


1.1K
Shares

 विपन्न समुदायका तीन हजारलाई कपडा वितरण
 टीकापुर कैलाली, २० पुस । ब्राहमण समाज कैलालीले विपन्न समुदायका लागि कपडा वितरण सुरु गरेको छ । यही पुस १ गतेदेखि सुरु गरिएको कपडा वितरण हालसम्म तीन हजार नागरिकसम्म पुगेको समाजका अध्यक्ष रामप्रसाद रिमालले बताउनुभयो ।
“कसैसँग धेरै कपडा हुने र कसैसँग नहुने अवस्था भएकाले भएकाबाट सङ्कलन गरेर नहुनेलाई वितरण सुरु गरिएको हो”, उहाँले भन्नुभयो, ‘‘सबैतिरबाट सहयोग मिलेको छ । नयाँ र पुराना सबैखाले कपडा उपलब्ध भएका छन् ।’’
चिसो बढेपछि कपडा वितरण केन्द्रमा दैनिक तीन सय जनासम्म कपडा लिन आउन थालेको उहाँले बताउनुभयो । “एक जनालाई दुई जोर लुगा दिने गरेका छौँ, अत्यावश्यक भएकाले लुगा आफैँ छानेर लैजाने गर्नुभएको छ”, उहाँले भन्नुभयो ।
न्यायो लुगा लिन आउनुभएका ७८ वर्षे सुरेन्द्र चौधरीले दुई वटा ज्याकेट पाउनुभयो । “लाइनमा बस्न सक्दिन, मलाई लुगा मिलाइदिनुस् भनेपछि दुई वटा ज्याकेट पाए”, उहाँले भन्नुभयो, “घरमा बुढाबुढी मात्र छौँ, कमाउन सक्दैनौँ, जाडो छेक्न न्यायो लुगा छैनन, यी ज्याकेट पाएपछि सजिलो भयो ।”
जानकी गाउँपालिका–१ दुर्गौलीकी फुलमती चौधरीले चिसो मौसममा यसरी निःशुल्क रूपमा कपडा वितरण गर्नु राम्रो काम भएको बताउनुभयो । “लुगा किन्न नसक्ने हामी जस्तालाई ठूलो सहयोग हो”, उहाँले भन्नुभयो, “कसैका घरमा टन्न लुगा हुन्छन्, कसैसँग एकसरो लुगा हुँदैनन्, यस्ता व्यक्तिलाई लुगा पाइने यो कार्य पुण्यको काम हो ।”
प्रेरणा चौधरी र शान्ति थारुले चिसोमा लुगा कपडा किन्न नसक्नेका लागि निःशुल्क लुगा वितरणले राहत मिलेको बताउनुभयो । एकतानगर बस्तीकी रमा भुल एक घण्टासम्म लाइनमा बसेर एक वर्षको बच्चा र आफ्ना लागि चाहिने लुगा लिएर जानुभयो । “आफ्ना लागि लुगा लिन आएकी थिए, बच्चाका कपडा पनि पाएँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology