काठमाडौं, १८ पुस । बाल कलाकार सचिन परियारको निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएका उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो । उनी १३ वर्षका थिए ।
गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए । भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए ।
पारिवारिक स्रोतका अनुसार सचिनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
सचिनको निधनमा कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।