गोरखा, ८ मंसिर : गोरखामा परम्परागत सिप हस्तान्तरणका लागि विद्यार्थीलाई दुनाटपरी बुन्ने तालिम प्रदान गरिएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई परम्परागत सिपको पुस्ता हस्तान्तरणका लागि दुनाटपरी बुन्ने तालिम दिएको क्याम्पस प्रमुख एकदेव अधिकारीले जानकारी दिनुभयो ।
‘‘परम्परागत सिप पछिल्लो पुस्तामा हस्तान्तरण गर्न नसक्दा विस्तारै लोप हुँदै जाने अवस्था पनि आएको छ, उहाँले भन्नुभयो,‘‘यसलाई पुस्तान्तरण गर्दै जानसके मौलिक सिपको संरक्षण पनि हुने र कसैलाई आर्थिक उपार्जनको एक माध्यम पनि बन्नसक्छ भन्ने विश्वास छ ।’’
विद्यालय तथा गाउँघरमा भोजभतेरमा प्लाष्टिकका भाडाको प्रयोग अत्याधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्ने पनि तालिमको उद्देस्य रहेको उहाँले बताउनुभयो । ‘‘क्याम्पसमै कार्यक्रम गर्दापनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भन्नुभयो, ‘‘अव क्याम्पसमा दुनाटपरीको प्रयोगमा जोडदिने योजना बनाएका छौँ ।’’
स्थानीय वनमा पाइने सालको पातलगायतका स्रोत साधनको उपयोग गर्नसके वातावरण विग्रन पनि नपाउने र थोरै भएपनि आयआर्जनसमेत गर्न सकिने भएकाले दुनाटपरी बनाउने तालिम महत्वपूर्ण भएको उहाँको भनाई छ । ‘‘टपरीको बारेमा धेरैलाई थाहा भएपनी दुना, वोगताको थाहा नै पनि रहेनछ, क्याम्पस प्रमुख अधिकारीले भन्नुभयो, ‘‘तालिमले उनीहरुलाई उत्साहित पनि बनाएको छ ।’’
क्याम्पसले तालिममा सहभागी बिच प्रतियोगिता गराउने योजनासमेत बनाएको छ । ‘‘हाम्रै घरआँगनका छेउमा रहेका सालका पात तथा अन्य वोटविरुवाको पातका दुनाटपरी बनाएर विवाह, भोजभतेर, चाडपर्व टाथ्र्यौ, हाम्रो आफ्नै आत्मानिर्भरता पनि थियो, उहाँले भन्नुभयो,‘‘अहिलेको जतापनि प्लास्टिकका सामाग्री प्रयोग गर्न चलन आयो यसलाई निरुत्साहित गर्न पनि युवापुस्तालाई तालिम प्रदान गरिएको हो ।’’
क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियान अन्र्तगत छात्राहरुका लागि दुनाटपरी बुन्ने तालिम सञ्चालन गरेको हो ।