गोरखा, २३ कार्तिक । नारायणगढ–मुग्लिन सडकको चितवन भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा निधन भएका पाँचैजनाको सनाखत भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार निधन हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४२ वर्षका राजबहादुर गुरुङ र दुर्घटनाग्रस्त माइक्रोबसका चालक चितवन खैरहनी नगरपालिका–४ का अन्दाजी ४० वर्षका अनोज अधिकारी रहेका छन् ।
त्यसैगरी भारत घर भई कास्की जिल्ला पोखरा महानगरपालिका–९ मा किराना पसल चलाउने ३६ वर्षका राजकुमार साहको पनि निधन भएको चितवन प्रहरीले जनाएको छ । मृतक अन्य दुई जनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बिनयीत्रिवेणी गाउँपालिका–४ बगैंचाका ३५ वर्षका सन्तोष भुसाल र ३३ वर्षकी सबिना भुसाल रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी भेषराज रिजालले बताउनुभयो ।
सत्रकिलोमा बिहान ३ बजेतिर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इभी गाडी माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको ठूलो बस एक आपसमा ठक्कर खाएका थिए । निधन भएका सबैजना माइक्रोबसका चालक र यात्रुहरु हुन् ।
माइक्रोबसका थप एकजना यात्रु गम्भीर घाइते छन् । उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट छुटेको माइक्रोबसमा चालकसहित ६ जना रहेको चितवन प्रहरीले जनाएको छ । ठूलो बसका चालकसहित ६ जना घाइते भएका थिए ।
सामान्य घाइते भएका पाँचजना उपचारपछि डिस्चार्ज भइसकेका छन् । मध्यम घाइते भएका बसका चालकको शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ ।