अस्मिता सिंखडा
गोरखा, २२ कार्तिक । गोरखा जिल्लाको कुन जनसख्या मध्ये तेस्रो धेरै जनसंख्या मगर समुदायको छ । पछिल्लो जनगणना अनुसार जिल्ला भित्रमात्र २८ हजार ९ सय ५६ जना जनसंख्या रहेको मगर समुदायको आफ्नै मातृभाषा तथा मौलिक संस्कृति र परम्परा रहेको छ । मगर भाषा र संस्कृतिका संरक्षणका लागि मगर समुदायले पहल गर्दै आएको भएपनि पछिल्लो समय मगर भाषा विस्तारै लोप हुँदै गएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ का मोहन थापामगरले मगर भाषा बोल्न जान्नु हुन्न ।
झण्डै ३६ बर्ष शिक्षण पेशामा आवद्ध हुनुभएका उहाँलाई अहिले आफ्नो भाषा बोल्न रहर लाग्ने गरेको भएपनि नसक्दा र नजान्दा पछुतो हुने गरेको उहाँ बताउनुहुन्छ । बाजेबजैले घरमा अधिकांस समय मगरभाषामा कुराकानी गर्ने गरेको तर बुबाआमाले नवोल्दा आफुले पनि मगरभाषा बोल्न नसकेको उहाँ बताउनुहुन्छ । दैनिक जीवन र घर व्यवहारमा समेत मगरभाषा प्रयोगमा नहुँदा आफ्नै मातृभाषा सिक्न नसकेको अनुभव थापामगरसंग छ ।
थापामगरलोप हुँदै गएको मगर भाषाको पुस्तान्तरणका लागि सहिद लखन गाउँपालिकाको बक्राङस्थित श्री थानीमाई आधारभूत झण्डै १० बर्षसम्म मगर भाषाको कक्षा सञ्चालन हुने गरेको थियो । तर अहिले अभिभावक र विद्यार्थीमा रुची नदेखिएपछि गएको दुई बर्षदेखि त्यहाँपनि पठनपाठन रोकिएको विद्यालयको प्रधानध्यापक वेदबहादुर थापामगर बताउनु हुन्छ । विद्यालयमा करिब ६० प्रतिसत बालबालिका मगर समुदायका भएपनि अहिले अधिकांसलाई मगर भाषा बोल्न र लेख्न जान्दैनन् ।
मगर समुदायमा आफ्ना बालबालिकाको भविस्यका लागि मातृभाषा भन्दापनि अग्रेजी भाषा राम्रो हुनुपर्छ भन्ने सोचले मातृभाषा सिकाउनेतर्फ कसैले ध्यान नदिदा मगर मगरभाषा हराउदै गएको प्रधानध्यापक थापामगरले बताउनुभयो । घरमा बुवाआमाले बोल्ने तर छोराछोरीलाई नसिकाउने गरेका कारण पछिल्लो पुस्ताले भाषा भाषा बुझ्न र बोल्न छोडेको मगर समुदायका अगुवाहरु बताउछन् ।
आफ्नो भाषा, संस्कति र पहिचान जे छ त्यसलाई जर्गेना गर्नेे भन्दापनि अन्य भाषा सिकेर राम्रो देश पठाउने अभिलाषा अभिभावकमा देखिदा पनि मगर भाषाको संरक्षण हुन नसकेको विद्यालयको प्रधानध्यापक वेदबहादुर थापामगरले बताउनुभयो । गोरखाका ११ पालिका मध्ये चुमनुब्री र धार्चे गाउँपालिकावाहेकका अन्य सवै पालिकामा मगर समुदायको बाहुल्यता रहेको छ ।
मगर भाषाको संरक्षणमा स्थानीय सरकार र मगर समुदायले विशेष ध्यान नदिने हो भने मगर भाषा छिट्टै लोप हुने अवस्था रहेको छ ।