काठमाडौं, १४ कात्तिक । नेपाली बजारमा आज बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
उक्त दिन सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँ पुगेको छ ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढी हो । यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।